Kath Khabar
थप ३ जनाको शव भेटियो : एकै परिवारका ५ जनाको मृत्यु

              म्याग्दी, साउन १७ ।  म्याग्दीको मालिका गाउँपालिका-२, रुमको तामेङ गाउँमा पहिरोमा परी हराइरहेका थप ३ जनाको शव भेटिएको छ । मङ्गलबार बिहान करिब ३ बजे बस्ती माथिबाट खसेको पहिरोले २ घर बगाएपछि सम्पर्क विहीन भएका एकै परिवारका ३ जनाको शव पुरिएको अवस्थामा भेटिएको वडा सदस्य भक्त बहादुर पुनले जानकारी दिनुभयो ।

“पहिरोबाट शव निकालिएको छ, मृतक सबै एकै परिवारका हुन, बिहान २ जनाको शव भेटिएको थियो, अहिले ३ जनाको भेटिएको छ”, वडा सदस्य पुनले भन्नुभयो । खोज तथा उद्धारमा बिहानै देखि खटिए पनि भीषण बर्षा र निरन्तरको पहिरोले उद्धारमा समस्या भएको थियो । पहिरोमा पुरिएको अवस्थामा बिहान नवीन र रुजन विकको शव निकालिएको थियो भने घामबहादुर विक,राजु विक र रोजी विकको शव समेत निकालेर कानुनी प्रक्रियाको काम भइरहेको छ ।

बेपत्ता भएका उनीहरुको खोजीका लागि इलाका प्रहरी कार्यालयबाट प्रहरी टोली सहित स्थानीयवासी घटनास्थल पुगेका थिए । बस्ती माथिबाट पहिरो खसेको आवाज आएपछि भाग्दाभाग्दै गोठे र गोरी विक घाइते भएका थिए । पहिरो स्थलबाटै गोरीको उद्धार गरिएको थियो भने गोठे नजिकै घाइते अवस्थामा भेटिनुभएको थियो । “घरका सबै निन्द्रामा भाग्दाभाग्दै पहिरोमा परे, एकैपटक आएर घर पुरियो”, घाइते अवस्थामा भेटिएकाको भनाइ उद्यृत गर्दै वडा सदस्य भक्तिबहादुर घर्तीले भन्नुभयो ।

घाइतेको रुम स्वास्थ्यचौकीमा उपचार गरी मौसम अनुकूल भएपछि थप उपचारका लागि दरबाङ पठाउने तयारी भइरहेको छ । पहिरोमा परेर ज्यान गुमाउने प्रति मालिका गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजाले दुःख व्यक्त गर्नुभएको छ भने घाइतेको उपचार र मृतकको परिवारलाई समेत राहत उपलब्ध गराउने बताउनुभएको छ । यसैबीच बाढीपहिरोको जोखिममा रहेकालाई सुरक्षित स्थानमा जान समेत अनुरोध गरिएको छ ।
 

प्रकाशित मिति: मंगलबार, साउन १७, २०७९  १३:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update