Kath Khabar
पहिरोले मध्यपहाडी लोकमार्गको रुकुम(पूर्व) खण्ड अवरुद्ध



                रुकुम(पूर्व), साउन १७ । रुकुम(पूर्व) को भूमे गाउँपालिका–३ दोमैमा पहिरो खस्दा मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । सडक माथिबाट ठूलो पहिरो खस्दा उक्त सडक अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय रुकुम(पूर्व) का प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीका अनुसार सडकमा पहिरोसँगै ठूलठूला ढुङ्गासमेत झरेका छन् । तत्काल पहिरो हटाउन सम्भव नभएको डाँगीले बताउनुभयो । “भोलि बिहानैदेखि पहिरो पन्छाउँछौँ”, उहाँले भन्नुभयो । सडक अवरुद्धपछि यात्रु बाटोमै अलपत्र परेका छन् ।

मध्यपहाडी लोकमार्गहुँदै काठमाडौँ, पोखरा, बागलुङ र रोल्पाबाट आएका यात्रु भूमे गाउँपालिका–२ काँक्री र खाबाङमा बस्न भनिएको र रुकुम(पश्चिम) बाट आउनेलाई रुकुमकोटमै बास बस्न तथा वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको प्रहरी नायब उपरीक्षक डाँगीले बताउनुभयो ।
 

(रासस)

 

प्रकाशित मिति: मंगलबार, साउन १७, २०७९  २१:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update