Kath Khabar
रेडपान्डा संरक्षणका लागि : हिमाली संरक्षण मञ्च

              फुङ्लिङ, १८ । पहाड देखि अलि माथि लेकाली क्षेत्रहरुमा अहिले मालिङ्गोहरुको टुसा पलाउन थालेको छ । दुर्लभ जनावार रातो हाब्रे (रेडपान्डा) को आहारा मालिङ्गोले मुना बलाउन थालेसँगै रेडपान्डाका पोथीले बच्चा जन्माउने र बच्चा हुर्काउने समय सुरुआत भएको छ । यो समय भनेको रेडपान्डाको बच्चा हुर्काउने समय हो ।  

रेडपान्डाले शान्त ठाउँमा बस्न मन पराउँछ । मानव तथा अन्य जनावरले अशान्ति गरेको मन पराउँदैन । त्यसैले ताप्लेजुङको केही सामुदायिक वनहरूले सार्वजनिक सूचना जारी गरेरै दुर्लभ मानिने रेडपान्डा पाइने क्षेत्रका जङ्गलमा प्रवेशमा रोक लगाएको छ । साउनदेखि असोजसम्म जङ्गलमा पस्न र घाँस दाउरासमेत ल्याउन नपाइने गरी जङ्गल पस्न रोक लगाइएको छ । 

रेडपान्डाले बच्चा हुर्काउने समय भएकाले जङ्गलमा होहल्ला भएमा माउले बच्चा छोडेर हिँड्ने खतरा हुने भएकाले यस्तो सूचना जारी गरिएको पाथीभरा क्षेत्रको देउराली भित्री सामुदायिक वनभित्र प्रवेश निषेध गरिएको समुदायिक उपभोक्ता समितिले जनाएको छ । उपभोक्ता समितिका अध्यक्ष निमा कृपा शेर्पाका अनुसार रेडपान्डाले अशान्त माहोलबाट बच्चा जोगाउन अन्यत्रै लिएर हिँड्न खोज्ने, ठाउँ सार्न खोज्ने र सम्हाल्न नसके छोडेर अन्यत्रै जान्छ । यसबाट स्याहार नपुगेर बच्चाको मृत्यु पनि हुन सक्छ ।

जेठ अन्तिम देखि साउनभर रेडपान्डाले बच्चा जन्माउँछ । त्यसपछिका २ महिना नियमित हेरचाह गरेर हुर्काउँछ । यो अवधिमा कुनै अवरोध नभए बच्चाहरू सहजै हुर्कन्छन् । त्यसैले यो अवधिलाई विशेष महत्वका साथ हेरिने रेडपान्डा सम्बन्धी काम गर्दै आएको संस्था हिमाली संरक्षण मञ्चका कार्यक्रम संयोजक रमेश राई बताउनुभयो ।

सामान्यतया १ सय ३५ दिनको गर्भाधारण पछि बच्चा जन्माउने रेडपान्डाले पुस देखि फागुन सम्म गर्भाधारण गर्छ । गर्भवती भएको अवस्थामा ठूलो रूखको प्वाल खोजेर जन्माउने र हुर्काउने ठाउँ बनाउँछ । मेहनत गरेर बनाउने भएकाले बिनाअवरोध त्यहीँ हुर्काउन पाए बच्चालाई दूध चुसाएरै हुर्काउने भएकाले ३ महिना मात्रै राम्रो वातावरण पाए बच्चा सहजै हुर्कने रेडपान्डा संरक्षाकर्मीहरुको भनाइ छ ।

लजालु स्वभावको रेडपान्डा यो अवधिमा चलायमान हुन्छ  । खानेकुरा खोज्न गुँड बाहिर निस्कन्छ । आफूलाई असुविधा महसुस भए ठाउँ सार्ने गर्छ । सन् १९८९ मा लाङटाङ राष्ट्रिय निकुञ्जमा गरेको अध्ययनअनुसार ८६ प्रतिशत रेडपान्डाको बच्चा अवस्थामै मृत्यु हुने गरेको तथ्याङ्कले देखाएको छ । गाडीको हर्न बजे, घाँस दाउरा गर्दा ठूलो आवाजले कराए, रूखको हाँगा खसाले वा रूख काटेमा रेडपान्डा त्रसित हुने गर्छ । त्यस्तो अवस्था आए बच्चा सार्नतिर लाग्छ । सार्न थालेपछि बच्चाका लागि उपयुक्त वातावरण दिन नसक्ने भएकाले मृत्यु पनि हुन सक्छ । कुकुरबाट पनि जोखिम हुन्छ । कुकुर नियन्त्रणका लागि बर्सेनि बन्ध्याकरण शिविर सञ्चालन गरिरहेको हिमाली संरक्षण मञ्चका कार्यक्रम संयोजक राईले बताउनुभयो ।

मालिङ्गोको टुसा, टेङ्गाको दाना, भालुचिण्डे जस्ता वस्तु खाएर बाँच्ने यसले गुँड बनाउँदा आफूले खाने आहारालाई पनि ध्यान दिएको हुन्छ । यो बेला प्राकृतिक रूपले सबै आहारा पाउने समय भएकाले बाँच्नै समस्या भने हुँदैन । ताप्लेजुङमा १ सय ३५ भन्दा बढी सङ्ख्यामा रेडपान्डा रहेको अनुमान गरिएको मञ्चको तथ्याङ्क छ । रेडपान्डा मुलुकका ताप्लेजुङ, पाँचथर र इलामका वनहरूमा धेरै पाइन्छ । विभिन्न समयमा गरिएको सर्वेक्षण अनुसार मुलुकभर यसको सङ्ख्या ३ सयको हाराहारीमा रहेका छन् ।

विद्यार्थीलाई पढाइँदैछ रेडपान्डा संरक्षण :

लोपोन्मुख अवस्थामा रहेको दुर्लभ रेडपान्डा संरक्षणका लागि ‘रेडपान्डा नेटवर्क’ले विभिन्न सङ्घसंस्थासँगको सहकार्यमा विद्यालयमा पठनपाठन गराउँदै आएको छ । हाब्रे संरक्षणमा क्रियाशील सो नेटवर्कले वातावरण संरक्षण सम्बन्धी पाठ्यपुस्तक तयार गरेर विभिन्न विद्यालयमा अध्ययन अध्यापन गर्दै आएको हो ।

हाब्रे पाइने ताप्लेजुङ, पाँचथर र इलाम गरी २८ विद्यालयमा रातो हाब्रेका विषयमा पठनपाठन भइरहेको रेडपान्डा संरक्षण सम्बन्धी काम गर्दै आएको हिमाली संरक्षण मञ्च ताप्लेजुङका कार्यक्रम संयोजक रमेश राईले जानकारी दिनुभयो । कक्षा ६ र ७ मा पठनपाठन सुरुआत गरिएको हो । विद्यालय स्तरबाटै वातावरण संरक्षणको चेतना जगाउन स्थानीय पाठ्यसामग्री तयार पारिएर अध्ययन हुँदै आएको उहाँले बताउनुभयो । 

ताप्लेजुङ, इलाम र पाँचथरका वातावरण, भौगोलिक अवस्था, मानवीय अवस्थाको विषय समेटिएर तयार पारिएको पाठयक्रम भएकाले स्थानीय परिवेश बुझ्न पनि मद्दत पुग्ने विश्वास गरिएको छ । कक्षा ६ को पुस्तकमा संरक्षण, संरक्षित क्षेत्र र संरक्षणका स्थानीय अभ्यास, हाब्रे, मानव र वन्यजन्तु बीचको द्वन्द्व र न्यूनीकरणका अभ्यास, संस्कार, संस्कृति र पर्यटन सम्बन्धी पाठ्यसामग्री समावेश गरिएको छ । 

कक्षा ७ को पुस्तकमा पूर्वी हिमाल, जैविक विविधता, संरक्षण सम्बन्धी ऐन, कानुन, प्राकृतिक स्रोतमा आधारित जीविकोपार्जनका अभ्यास र जलवायु परिवर्तन शीर्षकका छन् । ती विद्यालयमा बाल क्लब बनाएर यसअघि देखि नै वातावरण संरक्षणसम्बन्धी ज्ञान दिइँदै आए पनि त्यति प्रभावकारी हुन नसकेपछि स्थानीयस्तरमै पाठ्यक्रम तयार पारी लागू गरिएको रेडपान्डा नेटवर्कले जनाएको छ ।

लोपोन्मुख हाब्रेको संरक्षण २०६३ देखि हुन थालेको हो । ताप्लेजुङ, पाँचथर र इलाम जिल्लामा करिब २ सयको हाराहारीमा हाब्रे रहेको अनुमान गरिएको छ । इलाममा उच्च पहाडी संरक्षण संस्था नेपाल, पाँचथरमा दीपज्योति युवा क्लब र ताप्लेजुङमा हिमाली संरक्षण मञ्चले हाब्रे संरक्षण गर्दै आएका छन् । हाब्रे उच्च हिमाली तथा पहाडी क्षेत्रमा बसोबास गर्ने गर्दछ । विशेषगरी मालिङ्गोका पात र तामा खाने गर्दछ । रेडपान्डा नेपाल, चीन, म्यान्मा, भूटान लगायत देशमा पाइने भए पनि यिनीहरूको सङ्ख्या दिनानुदिन घट्दै गएको मञ्चका सचिव विवश केदेमले जानकारी दिनुभयो । नेपालमा २ हजार ५ सयको हाराहारीमा हाब्रे हुन सक्ने उहाँको भनाइ छ । 

यो १ हजार ८ सय देखि ४ हजार ८ सय मिटर उचाइका क्षेत्रमा पाइने गर्छ । खासगरी गुराँस र बाँस प्रशस्त भएको समशीतोष्ण पतझड र कोणधारी जङ्गल क्षेत्रमा बसोबास गर्ने गर्दछ । अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आइयुसिएन)ले हाब्रेलाई सन् १९९६ देखि सङ्कटापन्न जीवको सूचीमा राखेको छ ।

विभिन्न कारणले गर्दा हाब्रेको सङ्ख्या दिनानुदिन घटिरहेको छ । यसको प्राकृतिक बासस्थान निरन्तरको विनाश, निगालो र बाँसजन्य जङ्गल अभाव, कम प्रजनन क्षमता, कम जन्मदर तर उच्च मृत्युदर, अत्यन्तै कमजोर शरीर, चोरीसिकारी, डढेलो लगायतका कारण हाब्रेका लागि चुनौती बनिरहेका छ । तीव्र रूपमा भइरहेको वनजङ्गलको विनाश र अवैध चोरी-सिकारीको कारणले गर्दा हाब्रे सङ्कटमा परिरहेको छ ।

हाब्रेको सिकार निषेधित भए पनि तस्करले यसको लुकीछिपी सिकार गर्ने गर्छन् । नेपालले पनि रेडपान्डालाई संरक्षित जीवका रूपमा सूचीकृत गरेको छ । सरकारको पछिल्लो सर्वेक्षणले रेडपान्डा २३ जिल्लामा पाइने यकिन भएको छ । रेडपान्डा नेटवर्कले ३५ जिल्लामा १ महिना लगाएर गरेको सर्वेक्षणले मुलुकको पश्चिमी क्षेत्रमा हाब्रेको बढी बासस्थान रहेको पहिचान गरेको छ । ताप्लेजुङ, पाँचथर, इलाम, सङ्खुवासभा, सोलोखुम्बु, खोटाङ, भोजपुर, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, धादिङ, लमजुङ, म्याग्दी, बागलुङ, रोल्पा, रुकुम, जाजरकोट, जुम्ला, मुगु र कालीकोटमा हाब्रेको उपस्थिति रहेको देखिएको छ ।

रेडपान्डा जोगाउन कुकुरको बन्ध्याकरण :

विश्वमै दुर्लभ वन्यजन्तुको सूचीमा रहेको रेडपान्डा संरक्षण गर्न ताप्लेजुङमा कुकुरको बन्ध्याकरण गरिँदै आएको छ । कुकुरको आक्रमणबाट रेडपान्डा असुरक्षित बन्दै गएको पाइएपछि कुकुरको बन्ध्याकरण अभियान थालिएको हो । रेडपान्डा पाइने क्षेत्र वा बासस्थान नजिकका गाउँघरमा रहेका घरपालुवा तथा सामुदायिक कुकुरबाट रेडपान्डा माथि आक्रमण हुने गरेको छ । कुकुरको आक्रमणका कारण दुर्लभ रेडपान्डाको अस्तित्व थप सङ्कटमा पर्दै गएपछि रेडपान्डा संरक्षण गर्ने उद्देश्यले कुकुर नियन्त्रण गर्न बन्ध्याकरण अभियान थालिएको हो । 

रेडपान्डाको संरक्षणमा क्रियाशील संस्थाहरु रेडपान्डा नेटवर्कको सहयोगमा हिमाली संरक्षण मञ्चले कुकुरको बन्ध्याकरण अभियान थालेका हो । रेडपान्डाको संरक्षण गर्नलाई कुकुर नियन्त्रण गर्न आवश्यक देखिए पछि स्थानीय तहसँग समन्वय गरेर विगत ६ वर्ष अघि देखि नै बन्ध्याकरण अभियान थालेको हिमाली संरक्षण मञ्चका कार्यक्रम संयोजक रमेश राईले बताउनुभयो । रेडपान्डा नेटवर्कको आर्थिक सहयोगमा सुरु गरिएको अभियानअन्तर्गत हालसम्म करिब ८५ वटा कुकुरको बन्ध्याकरण गरिएको राईले जानकारी दिनुभयो ।

उहाँका अनुसार गएको आर्थिक वर्षमा मात्र ९ वटा कुकुरको बन्ध्याकरण गरिएको थियो । अभियानअन्तर्गत नै चालु आर्थिक वर्ष २०७८-८९ मा कम्तीमा १८ वटा कुकुरको बन्ध्याकरण गर्ने योजना रहेको हिमाली संरक्षण मञ्चले जनाएको छ । बन्ध्याकरण सँगै कुकुरलाई रेबिज विरुद्ध खोप र भिटामिन पनि खुवाउन थालिएको छ । कुकुरलाई दिइने खोप र भिटामिनले पनि रेडपान्डा संरक्षणमा सघाउ पुग्ने मञ्चले जनाएको छ । 

कार्यक्रम संयोजक राईका अनुसार कुकुरको शरीर स्वस्थ्य भई मोटाउने र भद्दा हुने भएपछि सिकार गर्न नरुचाउने हुँदा रेडपान्डा संरक्षणमा सहयोग पुग्नेछ । रेडपान्डा पाइने नजिक क्षेत्रका गाउँमा रहेका कुकुर र बिरालो समेतलाई रेबिज विरुद्धको खोप लगाउनाका साथै भिटामिन खुवाउन थालिएको राईले बताउनुभयो । उहाँका अनुसार गत हप्ता मात्र ४ सय १४ वटा कुकुर र १९ वटा बिरालोलाई रेबिज रोग विरुद्ध खोप र भिटामिन उपलब्ध गराइएको छ ।

रेडपान्डा पाइने जिल्लाको मिक्वाखोला गाउँपालिका ५ र ६ फाकुम्बामा ५३ कुकुरलाई  रेबिज रोग विरुद्धको खोप लगाएको र उक्त कुकुरलाई भिटामिन पनि खुवाइएको छ । पाथीभरा याङ्वरक गाउँपालिका २ थेचम्बु र ३ तिरिङ्गेमा ६६, सिरिजङ्गा गाउँपालिका ३ सिकैँचा ७ खेबाङ र ८ याम्फुदिन क्षेत्रमा १ सय ६३ कुकुरलाई रेबिज विरुद्ध खोप र भिटामिन दिइएको छ । 

यस्तै सिदिङ्वा गाउँपालिका १ कालीखोलामा १६ वटा कुकुर, फुङ्लिङ नगरपालिका १० फुरुम्बो र ११ फावाखोलामा ९६ वटा कुकुरलाई खोप र भिटामिन दिएको मञ्चले जनाएको छ । उक्त क्षेत्रमा केही बिरालोहरुलाई पनि रेबिज विरुद्ध खोप लगाएको र भिटामिन खुवाएको हिमाली संरक्षण मञ्चका सचिव विवश केदेमले जानकारी दिनुभयो । केदेमका अनुसार रेबिज रोग विरुद्ध खोप लगाएको र भिटामिन खुवाएका अधिकांश कुकुर घरपालुवा छन् भने केही सामुदायिक कुकुर रहेका छन् । मञ्चले सङ्कलन गरेको तथ्याङ्कअनुसार ताप्लेजुङमा करिव १ सय ३४ रेडपान्डा रहेको अनुमान छ ।

रेडपान्डाका लागि २ करोड बजेट :

हिमाली संरक्षण मञ्चले रेडपान्डा संरक्षण अभियानका लागि ताप्लेजुङमा रु. २ करोड २ लाख बजेट रहेको बताइएको छ । रेडपान्डा नेटवर्कको सहयोगमा हिमाली संरक्षण मञ्चले २०२२ को जनवरी देखि डिसेम्बर सम्मको अवधिमा उक्त रकम ४ वटा शीर्षकमा खर्च गरिने जनाएको छ । मञ्चका कार्यक्रम संयोजक रमेश राईले अनुसन्धान तथा अनुगमन, शिक्षा तथा जनचेतना, दिगो जीविकोपार्जन र पर्या-पर्यटन प्रवर्धन शीर्षकमा खर्च हुने बतानुभयो । 

जिल्लाको १ नगरपालिका र ८ गाउँपालिका मध्ये आठराई त्रिवेणी गाउँपालिका बाहेक सबै पालिकाको वडामा कार्यक्रम कार्यानवयन हुने मञ्चले जनाएको छ । रेडपान्डा नेटवर्कले ताप्लेजुङ सहित पाँचथर र इलाममा पनि कार्यक्रम सञ्चालनमा छ ।

प्रकाशित मिति: बुधबार, साउन १८, २०७९  १४:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update