Kath Khabar
सप्तकोसीको बाँध फुटेपछि बराक्षेत्रका पाँच सय परिवार श्रीलङ्का टापुमा



           इनरुवा, साउन १८। उदयपुरको बेलका नगरपालिका-८ लाहुरेखोच डुम्रीबोटमा सप्तकोसी नदीको बाँध फुटेपछि सुनसरी बराहक्षेत्र नगरपालिकाका पाँच सय घरपरिवारका मानिस फसेका छन् ।

कोसी नदीको बाँध फुटेर गाउँ पस्दा बराहक्षेत्र-६ र ९ का पाँच सय घरपरिवारका दुई हजार पाँच सयजना फसेको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो । उनीहरु श्रीलङ्का टापुमा फसेको उहाँले बताउनुभयो । त्यस क्षेत्रका स्थानीयवासीलाई स्थानान्तरण गर्ने प्रयास गरे पनि उनीहरु आउन नमानेको र फसेकाहरु सुरक्षित रहेको बताएको सुनसरीका प्रजिअ यादवले बताउनुभयो ।

यसैबीच कटान गरिएको क्षेत्रमा १ नं प्रदेशका आन्तरिक मामिलामन्त्री केदार कार्की सहितले निरीक्षण गर्नुभएको छ । मन्त्री कार्की सहितको टोलीले कटान गरिएको स्थान, प्रभावितलाई उद्धार गर्ने तयारी लगायतको विषयमा निरीक्षण तथा अनुगमन गरिएको प्रजिअ यादवले बताउनुभयो । अहिले केही बेरमा प्रदेश विपत् व्यवस्थापन समितिको बैठक बस्ने तयारी भएको उहाँले जानकारी दिनुभयो ।

बैठकले पीडितलाई तत्काल उद्धार, आवश्यक राहतको प्याकेज, स्थानान्तरण लगायतका विषयमा केन्द्रित हुने उहाँले जानकारी दिनुभयो ।

मन्त्री कार्कीसहितको टोलीद्वारा बाँध फुटेको क्षेत्रको स्थलगत अनुगमन
सप्तकोसी नदीको बाँध फुटेर बस्तीमा पसेपछि उदयपुरको बेलका-८ डुम्रीबोट र लाहुरेखोँच क्षेत्रको प्रदेश नं १ सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्की सहितको टोलीले आज स्थलगत अनुगमन गरेको छ ।

अनुगमनमा मन्त्रालयका सचिव, सुरक्षा निकायका प्रमुख, मोरङ, सुनसरी र उदयपुरका प्रमुख जिल्ला अधिकारी, स्थानीय तहका प्रमुख सहभागी रहनुभएको छ । अनुगमन टोलीमा मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहाल, सुनसरीका प्रजिअ इन्द्रदेव यादव र उदयपुरका प्रजिअ वीरेन्द्रकुमार यादव, बेलका नगरपालिकाका प्रमुख अशोक कार्की, सप्तकोसी नगरपालिकाका कृष्ण्प्रसाद ढकाल र कञ्चनरुप नगरपालिकाका प्रमुख ललनप्रसाद गुप्ता, बराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्की तथा सशस्त्र र नेपाल प्रहरीका अधिकारी घटनास्थलमा उपस्थित भएर सुरक्षा र उद्धार कार्यमा सहजीकरण सहितको विषयमा अनुगमन तथा निरीक्षण गर्नुभएको हो ।

सप्तकोसीबाट बस्ती क्षेत्रमा पसेको पानीले बेलका नगरपालिका तथा सप्तरीका कञ्चनरुप र सप्तकोसी नगरपालिकामा समेत क्षति गर्न सक्ने भएकाले त्यहाँका सर्वसाधारणलाई उचित स्थानमा सार्न स्थानीय तहका प्रमुखले आग्रह गर्नुभएको छ ।  

कटान क्षेत्रको स्थलगत निरीक्षण गर्न पुग्नुभएका मन्त्री कार्कीले प्रभावित क्षेत्रमै प्रदेश विपद् व्यवस्थापन समितिको बैठक बस्ने तयारी भएको सुनसरीका प्रमुख जिल्ला अधिकारी यादवले जानकारी दिनुभयो ।
 

(रासस)

 

 

प्रकाशित मिति: बुधबार, साउन १८, २०७९  १४:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update