
काठमाडौं, साउन १९। देशभर आंशिक देखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेकाले केही स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद् सञ्जीव अधिकारीले बताउनुभयो । उहाँका अनुसार अबको २-३ दिन लगातरको भारी वर्षाको सम्भावना भने रहेको छैन ।
न्यून चापीय रेखा सरदर स्थानबाट दक्षिणतिर सर्ने क्रममा रहेकाले अबको केही दिन मनसुनी गतिविधि कम हुने बताइएको छ । हाल देशभर सामान्य बदली रही थोरै स्थानमा हल्का वर्षा भइरहेको छ । रातको समयमा देशभर आंशिक देखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षा हुने तर गण्डकी प्रदेशका १-२ स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
शुक्रबार पनि देशभर आंशिक देखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २१.२७ डिग्री र अधिकतम् तापक्रम २७.० डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १६.४ डिग्री र सबैभन्दा धेरै दिपायलको अधिकतम तापक्रम ३३.७ डिग्री सेल्सियस रहेको छ ।