Kath Khabar
पशुपति क्षेत्र सफा राख्न संस्कृतिमन्त्री श्रेष्ठको निर्देशन

              काठमाडौं, साउन  २१ ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पशुपतिनाथ मन्दिर क्षेत्रको अवलोकन गर्नुभएको छ ।  पशुपति क्षेत्र भित्रका विभिन्न स्थानमा पुगी उहाँले त्यहाँको वस्तुस्थिति र व्यवस्थापनबारे जानकारी लिनुभएको हो । पुनःनिर्माण भइरहेका सम्पदास्थल, विश्वरुप मन्दिर, मृगस्थली, श्लेषमान्तक वन, विभिन्न मठमन्दिर, स्तूप, सत्तल लगायत स्थलको अवलोकन पछि त्यहाँको  सरसफाइमा ध्यान दिन र  भक्तजन, तीर्थयात्री, पैदलयात्री एवं पर्यटकलाई सहज हुने गरी सबै प्रबन्ध मिलाउन पनि मन्त्री श्रेष्ठले पशुपति क्षेत्र विकास कोषलाई निर्देशन दिनुभयो ।  

मृगस्थली क्षेत्रमा अवस्थित लिच्छवीकालीन विश्वरूप मन्दिर पुनःनिर्माणको अवस्थाबारे पनि उहाँले जानकारी लिनुभयो । सांस्कृतिक एवं पुरातात्वक महत्वको पशुपति क्षेत्र खुला सङ्ग्रहालयका रूपमा रहेको बताउँदै मन्त्री श्रेष्ठले  सुरक्षा, संरक्षण रसरसफाइमा ध्यान दिनुपर्ने बताउनुभयो ।  घाट व्यवस्थापन, पानी, बिजुली तथा सार्वजनिक शौचालय व्यवस्थापन गरी सहज सेवा प्रवाह गर्न उहाँले निर्देशन दिनुभयो । 

सरकारले पशुपति क्षेत्र सुधार कार्यक्रमलाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा राखेको र त्यसै अनुसार पशुपति क्षेत्रको बृहत्तर सुधार कार्यक्रम तथा पुनःनिर्माण कार्य भइरहेको कोषका सदस्य सचिव डा मिलन कुमार थापाले बताउनुभयो ।  उहाँले कोषका अन्य गतिविधिका बारेमा पनि मन्त्री श्रेष्ठलाई जानकारी गराउनुभएको थियो ।

प्रकाशित मिति: शनिबार, साउन २१, २०७९  १४:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update