
काठमाडौं, साउन २२ । देशभर आंशिक देखि सामान्य बदली रही ३ प्रदेशमा भारी वर्षा हुने भएको छ । देशभर आंशिक देखि सामान्य बदली रही देशका पहाडी भू-भागका केही र बाँकी भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावनाका साथै सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशका १-२ स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणमा अवस्थित रहेको छ । विभागले आगामी २४ घण्टा देशका पहाडी भू-भागका केही र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षा र सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशका १-२ स्थानमा भारी वर्षाको सम्भावना रहेकाले विभागले जनाएको छ । उक्त भू-भागहरूमा भू-क्षय, पहिरो तथा गेग्र्यान बहावको जोखिम रहनाका साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने र दैनिक जनजीवन, यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले सबैमा अनुरोध समेत गरेको छ ।
रातको समयमा देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली तथा लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २०.३ डिग्री र अधिकतम तापक्रम ३०.५ डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १६.९ डिग्री र सबैभन्दा धेरै दिपायलको अधिकतम तापक्रम ३५.२ डिग्री सेल्सियस रहेको छ ।