Kath Khabar
अब ३ दिनमै सवारी अनुमति पत्र

              काठमाडौं, साउन २२ ।  तपाईंलाई छिटो सवारी साधनको अनुमति पत्र चाहिएको छ रु यदि चाहिएको भए अब ३ दिनमै तपाईंले प्राप्त गर्नुहुन्छ । बागमती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालय हेटौँडाले आकस्मिक (इमर्जेन्सी) रुपमा सवारी अनुमति पत्र  चाहिने सेवाग्राहीलाई ध्यानमा राखेर छिटोमा ३ दिनमै दिने व्यवस्था गरेको हो ।

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले आफू मुख्यमन्त्री भएसँगै सवारी चालक अनुमतिपत्र लिन पर्खाइमा रहेका सेवाग्राहीलाई ६ महिना भित्र वितरण गरिसक्ने प्रतिबद्धता जनाउनु भएको थियो । प्रदेश सरकारले अतिरिक्त समयमा यातायात कार्यालय सञ्चालन गर्न सहज हुनेगरी २०७८ फागुन २६ गते कार्यविधि बनाएको थियो । सोही कार्यविधि अनुसार श्रम, रोजगार तथा यातायात मन्त्रालय हेटौँडाले आफू मातहतका सवारी चालक अनुमतिपत्र लिने कार्यालय बिहान ७ बजे देखि सञ्चालन सुरु गरेको छ ।

मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव इञ्जिनियर उमेश रुपाखेती बागतमी प्रदेशले यातायात कार्यालयबाट दैनिक रुपमा प्रवाह हुने सेवाग्राहीको विवरण दैनिक रुपमा सार्वजनिक गर्ने तयारी गरेको बताउनुहुन्छ । “सेवाग्राहीसँग प्रत्यक्ष जोडिने कार्यालय यातायात कार्यालयको सुधारका लागि बागमती प्रदेश कार्यालय लागेको छ”, उहाँ भन्नुहुन्छ ।

यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र ठूलोभर्‍याङ, हेटौँडा, जगाति लगायतका कार्यालयले आज बिहान ७ बजे देखि सेवाग्राहीलाई सवारी चालक अनुमतिपत्र प्रदान सुरु गरे पनि सवारी चालक अनुमतिपत्र एकान्तकुना, चाबहिलले छिट्टै सेवा प्रदान गर्ने बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री घनश्याम दाहाल बताउनुहुन्छ ।

मन्त्री दाहाल यातायात कार्यालय भित्र देखिएको अस्तव्यस्तता हटाउँदै सेवाग्राहीलाई सहज ढङ्गले सेवा प्रदान गर्नका लागि कार्यविधि बनाएर बिहानै देखि कार्यालय सञ्चालन सुरु गरेको बताउनुहुन्छ । “उपत्यका बाहेकका अरु जिल्लाका सेवाग्राही काठमाडौं भित्र सेवा लिन आउन नपरोस् भन्ने उद्देश्यले उपत्यका बाहिर पनि सवारी चालक अनुमतिपत्र कार्यालय खोल्न लागिरहेका छौँ”, उहाँ भन्नुहुन्छ ।

सेवाग्राही १० बजे देखि यातायात कार्यालय सञ्चालन हुने भएकाले ७ बजे देखि नै कार्यालय आएर लाइनमा बसेको अप्ठ्यारो अवस्थालाई महसुस गरेर बिहान ७ बजे देखि नै कार्यालय सञ्चालन सुरु गरेको उहाँको भनाइ छ । मन्त्री दाहाल अतिरिक्त समयमा काम गर्ने कर्मचारीलाई मन्त्रालयले भत्ताको समेत व्यवस्था गरेको बताउनुहुन्छ ।

आज बिहान सवारी चालक अनुमतिपत्र ठूलोभर्‍याङमा सेवा लिन आउनु भएका नागार्जुन नगरपालिका - २ का सेवाग्राही रामबहादुर श्रेष्ठ यति चाँडो लाइसेन्सको काम हुन्छ भन्ने विश्वास आफूलाई नलागेको बताउनुहुन्छ । “यस्तो सेवा सधैँ प्रदान गर्नसके यातायात कार्यालय प्रति सेवाग्राहीले हेर्ने दृष्टिकोणमा परिवर्तन आउँछ”, उहाँ भन्नुहुन्छ ।

सोही कार्यालयमा सेवा लिन आउनुभएका डडेलधुराका वीरेन्द्र साउद पछिल्लो समय यातायात कार्यालयले दिने सेवाप्रति आफू सन्तुष्ट रहेको बताउनुहुन्छ । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र ठूलोभर्‍याङका निमित्त प्रमुख सञ्जय थापा यातायात क्षेत्रलाई हेर्ने नजरमा परिवर्तन ल्याउनु जरुरी रहेको बताउनुहुन्छ । “हरेकले आफू कर्मचारी मात्र नभएर सेवाग्राहीको नजरबाट हेर्नसके यातायात क्षेत्रमा सुधार आउँछ”, उहाँ भन्नुहुन्छ ।

ठूलोभर्‍याङले दैनिक ३ सय जनालाई सवारी चालक अनुमति पत्र प्रदान गर्दै आएको छ । दैनिक ७ सय नयाँ सवारी चालक अनुमतिपत्रका लागि दर्ता, १ सय ५० नवीकरण, २ सयको राजस्व सङ्कलन र ५० जनालाई प्रतिलिपि प्रदान गर्दै आएको छ । 

यस्तै हप्ताको ५ सय जनाको लिखित परीक्षा सञ्चालन गर्दै आएको कार्यालय प्रमुख थापा बताउनुहुन्छ । ठूलोभर्‍याङले सवारी चालक अनुमतिपत्रका लागि चन्द्रागिरि नगरपालिकाको गुर्जुधारा स्थित भेहिकल एकेडेमीबाट प्रयोगात्मक परीक्षा गराउँदै आएको छ ।

प्रकाशित मिति: आइतबार, साउन २२, २०७९  १४:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update