
काठमाडौं, भदौ १ । सशस्त्र प्रहरी बल नेपाल जिल्ला कमाण्ड पोष्ट पश्चिम नवलपरासीले साउन ३१ गते पश्चिम नवलपरासी जिल्लाको रामग्राम नगरपालिका १८ स्थित सीमा ईलाकाबाट अवैध रुपले भारतबाट नेपालतर्फ ल्याउँदै गरेको करीब १२ लाख ९० हजार रुपैयाँ बराबरको ३० बोरा चिनी बोलेरो पिकअपसहित बरामद गरेको छ ।
यसैगरी सशस्त्र प्रहरी बल नेपाल बिओपी भुजहवाले सोही जिल्लाको सरावल गाँउपालिका ७ बाट करीब ५६ हजार रुपैयाँ बराबरको अवैध लत्ताकपडा बरामद गरेको छ । यसअघि सोही जिल्लाको प्रतापपुर गाँउपालिका ५ बाट साउन २१ गते सशस्त्र प्रहरीले करीब ३ लाख ४४ हजार रुपैयाँ बराबरको नम्बर प्लेट नभएको एउटा ट्रयाक्टर, ट्रली र त्यसमा रहेको अवैध कवाडी सामान नियन्त्रणमा लिएको हो ।
सशस्त्र प्रहरीले बरामद सामान आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालय पश्चिम नवलपरासीमा बुझाएको छ । यसैगरी राजश्व अनुसन्धान कार्यालय बुटवल रुपन्देही र सशस्त्र प्रहरी बल नेपालको संयुक्त टोलीले साउन २२ गते पश्चिम नवलपरासी जिल्लाको प्रतापपुर गाँउपालिका ५ बाट बिल बिजक नभएको पाँच बोरा लत्ताकपडासहित एउटा सवारी साधन नियन्त्रणमा लिएको छ ।
यूपी ५३ एम १८०० नम्बरको अल्टो कारमा राखेर ल्याउँदै गरेको उक्त लत्ताकपडाको बिल बिजक नभएको फेला परेपछि उक्त लत्तापकडा कारसहित आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय बुटवलमा बुझाइएको छ ।
सवारी साधनमा छुटेको ३३ जनाको १६ लाख ६४ हजार बराबरको सामान ट्राफिक प्रहरीद्धारा फेला
काठमाडौँ उपत्यकामा गत साउन महिनामा सवारी साधनमा छुटेका १६ लाख ६४ हजार बराबरको सामान खोजतलास गरी ट्राफिक प्रहरीले सम्बन्धित व्यक्तिलाई बुझाएको छ ।
गएको साउन महिना भित्र उपत्यका ट्राफिक प्रहरी कार्यालयको खोजतलास शाखामा ५२ जनाले आफ्नो महत्त्वपूर्ण सामान हराएको भनी निवेदन दिएका थिए । निवेदनको आधारमा ट्राफिक प्रहरीले खोजतलास सुरु गरेको थियो । सोही क्रममा सिसि क्यामेराको समेत प्रयोग गरेर ३३ जनाको १६ लाख ६४ हजार बराबरको सामान फेला पारी सम्बन्धित धनीलाई ट्राफिक प्रहरीले बुझाइसकेको छ । सामान छुटेका ११ ओटा सवारी साधन फेला परिसकेको तर त्यसमा छुटेका सामान भने फेला पर्न नसकेको उपत्यका ट्राफिक प्रहरी कार्यालयको खोजतलास शाखाले जनाएको छ । सवारी साधनमा छुटेका ८ जना यात्रुको सामानबारे भने अहिले अनुसन्धान भइरहेको छ ।
सवारी साधनमा कुनै पनि सामान छुटेमा सवारी साधनको नम्बर वा रङ र छुटेका सामानको विवरण सहित निवेदन दिन सकिने काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिनुभएको छ ।