
काठमाडौं, भदौ २ । नेपाल सरकारको सहयोगमा दलाई लामाका सेना खम्पाहरु नेपाल भित्र्याउने काम भइरहदा अमेरिका र भारत खुशी थिए भने चीन बढो सतर्कता अपनाउँदै थियो । उत्तरी सिमानामा त्यो भन्दा अगाडि भारतीय सेनाका चेक पोस्ट नेपाल सरकारकै सिफारिसमा राखिएका थिए। भारत र अमेरिका मिलेर नेपाल सरकारलाई दबाब दिइ नेपालमा खम्पा भित्र्याउने काम २०१० साल देखि नै हुँदै थियो । यसमा नेपाली काङ्ग्रेस सरकारको ठुलो सहयोग थियो।
उत्तरी सिमामा बि.स. २००९ सालपछि नै भारतीय सेना तैनाथी गराउनुको स्वार्थ खम्पाहरुलाई नेपाल प्रवेश गराउनु र तीनलाई सुरक्षा समेत दिनु थियो। अनि तिब्बत तर्फको चिनिँया सेनाको हर्कतको जासुसी गरेर त्यो खबर भारतीय आर्मीले दिल्ली पठाउँथेँ। दिल्लीको आर्मीले दिल्लीकै ब्रिटिश राजादुतावासलाई अनि त्यसले लन्डन पठाइ अनि लन्डनको सेनाको च्यानल मार्फत अमेरिका अर्थात सीआईएकोमा पुग्थ्यो । दलाई लामा- भारत र अमेरिकाको त्रिकोणात्मक सम्बन्ध र योजनाबाट नेपालको उत्तरी सीमामा भारतीय सेना राखेको र दलाई लामाका खम्पा सेना भित्र्याइएको थियो ।
वोलाङ्चूङ गोलादेखी पश्चिममा ट्रिन्कर- लिपुलेकसम्म भारतीय सेना तैनाथी थिए भने ति सबै क्षेत्रमा खम्पाहरूको जासुसी टिम (रेकी पट्रोल) घुमी रहन्थे। किनकी जहाँ चिनियाँहरूको कमजोर सुरक्षा पोजिसन हुन्थ्यो त्यहाँबाट खम्पाहरूले चिनिँया सेना मार्ने, गाडीलाई ध्वस्त पार्ने, लुट्ने, बलात्कार गर्ने जस्ता काम गर्थे।
यो अवस्थामा चिनिँया सेनाको पनि बोर्डर फाइटिङ पट्रोल ति इलाकामा घुम्न थाले भने उपल्लो मुस्ताङ इलाकासम्म आयो। २०१७ असार १४ गते चिनिँया पट्रोलको १००० भन्दा बढी सेना देखेपछि मुस्ताङका राजाले मुस्ताङमा तैनाथ भारतीय सेनालाई खबर गरी मुस्ताङ बचाइ दिन अनुरोध गरे। सो खबर भारतीय सेनाले दिल्ली, दिल्लीबाट लन्डन र त्यहाँबाट अमेरिका पुग्यो र तुरुन्तै नेपाल सरकारलाई दबाब आयो कि, ति चिनिँया सेना किन मुस्ताङ आए र नेपाल किन चुप बस्यो ?
चिनिँया सेना आएको हो होइन भन्नेबारे बुझ्न मुस्ताङमा तैनाथी रहेको (भारतीय चेक पोस्टसँगै रहेको) नेपाली सेनाका कमान्डर सुबेदार बम प्रसादको कमान्डमा १ सेक्सन सेना, भन्सार अधिकृत, स्थानीय जन प्रतिनिधि र दोभासे गरी १७ जनाको टोली अझै उत्तरी सिमानातर्फ हिँडेँ। नेपाल-चीनको सिमा नियम अनुसार नेपाली सेना हतियार न बोकी र सैनिक पोसाक नलगाइ गएका थिए ।
नेपाली टोली सबै घोडा चढेर गएका थिए। केही घण्टा हिंडेपछि उनिहरु माथि चिनिँया सेनाको फायर आयो। त्यतिबेला सुबेदार बम प्रसाद मारिए र अर्का १ जना सैनिक घाइते भए। अनि ति घाइते लगायत १६ जना चिनिँया सेनाको बन्धक बने भने सुबेदारको लास पनि उनिहरुले कब्जामा लिए। यो बारेमा नेपालका प्रधान मन्त्री बि पि कोइराला र चिनिँया प्रधान मन्त्री चाउ एन लाइको १० वटाभन्दा बढि पत्राचार छन्।
चीनले दलाई लामाका सेना 'खम्पा' ठानेकोले त्यो घटना हुन गएको लेखेको छ। वास्तवमा त्यसबखत मनाङ-मुस्ताङ क्षेत्र खम्पाको नियन्त्रणमा थियो। नेपाली प्रशासनको केही हात थिएन। पछि छानबिन गर्यो चीनले । घटनामा गल्ती स्विकारी मृतकदेखी सबैको क्षतिपुर्ती रु ५० हजार तिर्यो। चीनले माफी मागेको छ। यसबारे विस्तृत अध्ययन गर्न ग्रिस्म बहादुर देबकोटाको 'नेपालको राजनैतिक दर्पण' भाग-२ को पृष्ठ १३६ देखी ५८१ सम्म ठाउँ ठाउँमा छन्। गज्जबको कुरो त यो बारेमा नेपाली सेनालाई थाहा नै छैन। २०४९ सालदेखी आजसम्म नेपाली सेनाले १० वटा जति सैनिक ईतिहास प्रकाशन गरेको छ। तर यो घटना कतै छैन।
२०१७ साल असार १५ गते मुस्ताङमा चिनिँया सेनाद्वारा मरिएका सुबेदार बम प्रसाद सैनिक शहिद हुन्। उनको बारेमा म लेख्न खोजी रहेकोछु। सुबेदार बम प्रसादको ठेगाना र जात मेरो प्रयासबाट पत्ता लागेन। चीन र नेपालको पत्राचारमा पनि बम प्रसाद मात्र छन्। कोही भन्छन उनी ताप्लेजुङ्तिरका कार्की । कोही भन्छन् संखुवासभा मादीका दाहाल।
✍️ डा. प्रेम सिंह बस्न्यात, सहायक रथी(अप्रा)