
काठमाडौं, भदौ ६ । स्पोर्ट्स क्लाइम्बिङ खेललाई प्रबर्द्धन गर्न आइतबारदेखि राजधानीमा एकहप्ते क्लाइम्बिङ अभ्यास सुरु भएको छ । सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी पहिलो महिला पत्रकार कल्पना महर्जनले राजधानीको धुम्वाराहीमा रहेको पासाङ लामु स्पोर्ट्स क्लाइम्बिङमा क्लाइम्बिङ अभ्यास गराउन थालेकी हुन् ।
संस्कृति र साहस सँंगसँगै भन्ने नाराका साथ एकहप्ते तीज अन दी वाल कार्यक्रमको क्रममा महिलाहरूलाई क्लाइम्बिङ गराइएको हो । महिलाहरुले त्यहाँ रहेको स्पोर्टस् क्लाइम्बिङमा क्लाइम्बिङ गरेका थिए । यस क्रममा कोही महिला टुप्पोसम्म पुग्न सफल भए भने कोही असफल ।
तीजलाई फरक ढंगमा मनाउने उद्देश्यका साथ एकहप्ते तीज अन दी वाल सुरु भएको हो । कार्यक्रम अन्तर्गत फरकफरक दिन फरकफरक क्षेत्रका मानिसलाई क्लाइम्बिङ अभ्यास गराउने कार्यक्रम तय गरिएको छ । माउन्टेन एडभेन्चर सपोर्ट एकेडेमीको आयोजनामा कार्यक्रम भएको हो । कार्यक्रमका लागि एक्सेरेन्स आउटडोर नेपालले व्यवस्थापन गरेको थियो । कार्यक्रमको पहिलो दिन प्रिस्कुल कमिटी अफ नेपालका प्रिन्सिपलहरु सहभागी थिए । राजधानीका विभिन्न प्रिस्कुलका महिला प्रिन्सिपलहरूले क्लाइम्बिङ गरेका थिए ।
माउन्टेन एडभेन्चर सपोर्ट एकेडेमीका अध्यक्ष एवं खेलकुद अन्तर्गत पर्ने क्लाइम्बिङ खेललाई प्रचारप्रसार गरी सक्षम खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ गतवर्षदेखि तीजको अवसरमा वर्षमा एक पटक कार्यक्रम आयोजना गर्दै आएको जनाइन् । कार्यक्रमको उद्घाटन नेशनल क्लाइम्बिङ स्पोर्टस् एसोसिएसनका अध्यक्ष हरि घरलेले गर्नुभएको थियो ।