काठमाडौं, भदौ ७ । नबिल बैंकले समाजसेवी प्रेन्सा रेग्मीलाई नबिल जेन अल्फाको ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको छ ।
नबिल जेन अल्फा १८ वर्ष भन्दा मुनिका बालबालिकाहरू र अभिभावकहरूलाई लक्षित गरि ल्याइएको नेपालकै पहिलो डिजिटल एपमा आधारित प्रोडक्ट हो । अभिभावकहरूले यस एपमार्फत आफ्ना बालबालिकाहरूका लागि दैनिक कार्यहरू सिर्जना गर्न, सेट गर्न र तोक्न सक्छन् । बालबालिकाहरूले पनि दिइएको कार्य सम्पादन पछि अंक कमाउन सक्छन् र त्यही अंक लिंक गरिएको खातामा पैसाका रुपमा बचत हुने प्रावधान रहेको छ । यो प्रोडक्ट मार्फत बालबालिकाहरुलाई जीवन सीप र बचतको महत्व सिकाउने तथा अभिभावकहरूको दैनिकीमा सहजता ल्याउने लक्ष्य बैंकले लिएको छ ।
बैंकले रेग्मीलाई ब्रान्ड एम्बेसडरमा नियुक्त गर्न पाउँदा खुसी व्यक्त गरेको छ । रेग्मीले महामारीको समयमा सर्जिकल मास्क वितरण गरेर आठ वर्षको उमेरमा सामाजिक कार्यको थालनी गर्नुभएको थियो । पोखराको बिरौटाका स्थायी बासिन्दा नौं वर्षीया रेग्मीले भर्खरै दुबईमा ग्लोबल चाइल्ड प्रोडिजी अवार्ड २०२२ जित्नुभएको छ ।
नबिल जेन अल्फा बालबालिकालाई मार्गदर्शन गर्न, उत्प्रेरित र प्रोत्साहित गर्न ल्याइएको एपमा आधारित नेपाल कै पहिलो डिजिटल प्रोडक्ट हो,” नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुङ्गानाले जानकारी दिनुभयो । “प्रेन्सा एक समाजसेवी तथा हाम्रो लक्षित समूहलाई प्रतिनिधित्व गर्ने प्रेरणादायी पात्र भएकोले हामीले उहाँलाई यो प्रोडक्टको लागि सही फिट पाएका छौं,” उहाँले भन्नुभयो ।
यो प्रोडक्ट प्राविधिक ज्ञान भएका नयाँ पुस्ताका बालबालिकालाई लक्षित गरी ल्याएको बताउँदै ढुङ्गानाले भने, “हामीले एउटा एप विकास गरेका छौं, जहाँ बालबालिकाले आफ्ना अभिभावकले तोकेको काममा अंक कमाउन सक्छन् । यसरी बच्चाहरूले घरको कामर जीवन सीपहरू सिक्दै आफ्नो लिंक गरिएको खातामा पैसा कमाउन सक्छन् ।” उहाँले यस एपले सानै उमेरबाट बालबालिकाहरूमा वित्तीय साक्षरता बढाउने, बचतको महत्व र बजेटको बारेमा सिक्न र बुद्धिमतापूर्वक खर्च गरेर चाहना र आवश्यकताबीचको भिन्नता बुझ्न मद्दत गर्ने बताउनुभयो । बैंकले सेप्टेम्बरबाट उत्पादन सार्वजनिक गर्ने योजना बनाएको छ ।