Kath Khabar
‘अग्निपथ’बारे स्पष्ट नभएसम्म भारतीय सेनामा नेपाली भर्ती स्थगित


             काठमाडौं, भदौ ९। भारतले सैनिक भर्ती गर्न लागु गरेको अग्निपथ योजनाबारे स्पष्ट नभएको भन्दै नेपालले तत्काल नेपालबाट हुने भर्ती स्थगित गरेको छ। 

परराष्ट्रमन्त्री डा.नारायण खड्काले नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवलाई मन्त्रालयमा बोलाएर नेपाली युवा भर्ती गर्ने योजना स्थगित गर्न आग्रह गर्नुभएको हो । मन्त्रालय स्रोतका अनुसार मन्त्री खड्काले बुधबार राजदूत श्रीवास्तवलाई मन्त्रालयमै बोलाएर भर्ती रोक्न भन्नुभएको थियो ।

नेपाली गोर्खा भर्ना र्‍याली अगस्ट २५ देखि सेप्टेम्बर ७ सम्म बुटवलमा र १९ देखि २८ सेप्टेम्बरसम्म धरानमा हुने भनिएको थियो । तर अब यो मिति सार्न नेपालले भारतलाई आग्रह गरेको छ । काठमाडौंस्थित भारतीय दूतावासका अनुसार भारतले यी मितिहरूमा नेपाल सरकारसँग अनुमति मागेको थियो । तर नेपाल सरकारको यी मितिमा भर्ती र्‍याली नगर्न आग्रह गरेको छ ।

भारतीय सेनामा भर्ती गर्न नेपालमा पनि भर्ती केन्द्रहरु खुल्ने गरेका छन् । जुन योजना अन्तर्गत भारतीय सैनिकमा १७ देखि २३ वर्ष उमेर समूहका युवालाई चार वर्षका लागि भर्ना गरिन्छ । भर्ती भएकाहरुलाई पहिलो वर्ष ४ लाख ७६ हजार भारु दिइन्छ । यो चौथो वर्षसम्म बढेर ६ लाख ९२ हजार रुपैयाँसम्म पुग्नछ । यसको अतिरिक्त जोखिम भत्ता पनि दिइन्छ । चार वर्षपछि ७% को जागिर समाप्त हुन्छ भने २५% सेनामा स्थायी जागिरे हुन्छन् । चार वर्ष सेवा अवधि पूरा गरेर घर फर्किनेहरुलाई ११ लाख ७ हजार भारु उपदान पनि दिइन्छ।

प्रकाशित मिति: बिहीबार, भदौ ९, २०७९  १२:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update