काठमाडौं, भदौ १२ । सुन्धारास्थित ‘काठमाडौं मल’ भुइँतलासम्म मात्र नक्सा पास गरेर अवैध रूपमा अन्य संरचना निर्माण गरेको महानगरपालिकाले जनाएको छ। महानगरले भवनमा २ तलाको पार्किङका लागि मात्र नक्सा पास भएको र पास नक्सामा सटरहरू राखिएको जनाएको छ । गत बुधबार मलमा निर्माण गरिएको अनधिकृत संरचना महानगरपालिकाले हटाएको थियो ।
काठमाडौं मलको भवन कर्मचारी सञ्चय कोषले आफ्नो जग्गामा व्यावसायिक प्रयोजनका लागि निर्माण गरेको हो । तर, अहिले आएर नक्सा पासबिनै निर्माण गरेको खुल्न आएको छ । महानगरपालिकाले पटक पटक सूचना दिएर अभिलेख गराउन अनुरोध गर्दा समेत अटेरी गरेको जनाएको छ ।
कानुनी हिसाबले मलको संरचनालाई महानगरपालिकाले ‘नचिन्ने’ भन्दै नक्सा पास विवरण ल्याउन पुनः आग्रह गरेको छ । नक्सा पास नभए स्थानीय सरकार सञ्चालन ऐनअनुसार गरिएको व्यवस्था बमोजिम कारबाही गर्ने पक्षमा महानगर पुगेको छ ।
महानगर प्रमुख साहले अन्डर ग्राउन्ड पार्किङ ‘अन्य प्रयोजनमा नलगाऊन्’ भनेर निकालिएको ३५ दिने सूचनाको म्याद सकिएकाले ‘पार्किङ भनेर नक्सा पास भएका तर अन्य रूपमा प्रयोग भएका संरचना अनुगमन गरी कारबाही थालिएको’ छ । साहले काठमाडौंका सबै ठाउँमा क्रमशः अनुगमन गरी कारबाही हुने बताएका छन् ।
काठमाडौं उपत्यकामा अधिकांश ठाउँमा पार्किङका लागि भनेर नक्सा पास गरेर सटर भाडामा दिई व्यवसाय गर्ने गरेको पाइएको छ । महानगरले अहिले त्यस्तो कार्य हटाउन थालेको हो ।