काठमाडौं, भदौ १२ । नेवा: अभियन्ताहरूको जाहेरी परेपछि कमेडियन अपूर्व क्षितिज सिंह प्रहरी नियन्त्रणमा परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले सिंहलाई आइतबार नियन्त्रणमा लिएको प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भरत बोहराले जानकारी दिनुभयो । ‘जाहेरी परेपछि हामीले नियन्त्रणमा लिएका छौं। जाहेरी अनुसार अनुसन्धान अघि बढ्छ,’ उँहाले भन्नुभयो।
नेवा समुदायको आस्था माथि चोट पुर्याउने गरी व्यंग्य गरेको भन्दै कमेडियन सिंह विरूद्ध अभियन्ताहरूले काठमाडौं प्रहरी परिसरमा उजुरी गरेका थिए। अभियन्ताहरू शनिबार नै परिसरमा पुगेर उनीमाथि कारबाही गर्न माग गरेका थिए।
युट्युब च्यानल कमेडी क्याफेमा ‘नेवारको परम्परा’ शीर्षकमा भिडिओ सार्बजनिक भएको थियो। जसले नेवा समुदायको भाषा, संस्कृति, खाना, लगायत विषयमा व्यंग्य गरेको भन्दै अभियन्ताहरूले आपत्ति जनाएका हुन्। उनीविरूद्ध जाहेरी अनुसार नै अनुसन्धान अघि बढाउने एसएसपी बोहराले जानकारी दिनुभयो।
भिडिओ सार्वजनिक भएपछि सामाजिक सञ्जालमा आलोचना भएको थियो भने विरोध भएपछि सिंहले सो भिडिओ युट्युब च्यानलबाट हटाइसकेका छन्। यस्तै उनले शनिबार नै फेसबुक मार्फत् माफी मागेका थिए। भिडिओ मार्फत् पनि उनले माफी मागेका थिए।