काठमाडौं, भदौ १३। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले ३२ वटै वडामा एमडीजीपी डाक्टर र नर्स राख्ने प्रस्ताव गर्नुभएको छ ।
वडाहरुमा हुने विकास निर्माण कामको अनुगमनका लागि ३२ वटै इन्जिनियर राख्ने प्रस्ताव पनि मेयर साहले राख्नुभएको छ । भदौ १२ गते आइतबारको आठौँ नगर कार्यपालिका बैठकमा यससँगै विभिन्न निर्णयहरु गरेको छ । बैठकमा २७ वटा प्रस्ताव राखिएको छ ।
बैठकमा उहाँले ३२ वटै वडामा वडा क्लिनिक सञ्चालनका लागि ३२ जना एमडीजीपी डाक्टर र ३२ जना नर्स करार सेवामा राख्ने प्रस्ताव गर्नुभएको हो। मेयर बालेनले वडा क्लिनिकमा एमबीबीएस डाक्टर भन्दा जनरल फिजिसियन डाक्टर राख्न प्रस्ताव गर्नुभएको छ ।
यस्तै यस्तै होटल, रेष्टुरेन्ट तथा बजारमा बिक्री हुने खाद्य बस्तुको गुणस्तर परीक्षण गर्न खाद्य प्रविधि अध्ययन गरेका खाद्य निरीक्षक लिने, करारमा भएका कर्मचारीहरुको पुस मसान्तसम्म म्याद थप्ने, अस्थायी करारका कर्मचारीहरुलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउने लगायतका निर्णय भएका छन् ।
यस्तै फुड टेक्नोलोजीका विद्यार्थीहरूलाई रेष्टुराको खाना जाँच गर्न ‘फुड इन्सपेक्टर’ को रूपमा राखिने पनि बताउनुभएको छ । उनीहरूले मासु, तरकारी पसल तथा रेष्टुरेन्टहरुमा खाद्यान्नको निरीक्षण गर्ने बताउनु भयो । त्यसका लागि पाँच जना करारमा कर्मचारी राखिने प्रस्ताव पेश गरेको छ।
बैठकले ८ कक्षासम्म अध्ययन गर्ने सबै बालबालिकालाई २५ रुपैयाँ उपलब्ध गराउने प्रस्ताव पनि गरेको छ । यसका साथै महानगरपालिकाले खाद्य पदार्थको अनुगमन गर्न खाद्य निरीक्षक पनि राख्ने प्रस्ताव गरेको छ ।