काठमाडौं, भदौ १५ । अवस्था ठिक नभएका सवारी साधनलाई कारवाही गर्दै आएको ट्राफिक प्रहरीले आज देखि अभियानकैमा रुपमा कारवाहीलाई थप तिव्रता दिएको छ ।
काठमाडौंको कीर्तिपुर स्थित टि.यु गेट नजिकै आज बिहान तालिम प्राप्त प्राविधिक सहितको टोलिद्धारा गरिएको चेकिङको क्रममा २६ जना चालकलाई ट्राफिक प्रहरीले कारवाही गरेको छ । चेकिङ्गको क्रममा हेन्ड ब्रेक निकालेका ३ जना टाटा सुमोका चालक र च्यासिस बाङ्गो बनाएको एउटा टाटा सुमोका चालकलाई ट्राफिक प्रहरीले सवारी साधनको स्वरुप परिवर्तनको कसुरमा कारवाही गरेको हो । यस्तै, हेड लाइट ठिक नभएको एउटा र अवस्था ठिक नभएको ५ ओटा टाटा सुमोका चालकलाई कारवाही गरिएको छ ।
चेकिङमै भेटिएका वाइफर निकालेको र सवारी साधनको बत्ती ठिक नभएको ८ ओटा पानी ट्याङकर र अन्य टाटा र डि. आई गाडीका ८ जना चालकलाई पनि कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिनु भएको छ । अवस्था ठिक नभएको सवारी साधन चलाउँदा सवारी दुर्घटना बढ्न सक्ने र यसले यात्रुको जीवन पनि जोखिममा पर्न सक्ने भएकाले संभावित जोखिम कम गर्न आजबाट अभियानलाई तिव्रता दिइएको हो ।
आगामी दिनमा अभियानले निरन्तरता पाउने र अवस्था ठिक नभएको सवारी साधन चलाएको पाइएमा सवारी तथा यातायात व्यवस्था ऐन २०४९ बमोजिम कारवाही हुने पनि प्रहरी वरिष्ठ उपरीक्षक भट्टले बताउनु भएको छ ।
ट्राफिक नियम उल्लंघन गरी फरार भएका ६३ जना चालक कारवाहीमा
विभिन्न ट्राफिक नियम उल्लंघन गरी फरार भएका ६३ ओटा दुईपाङ्गे सवारी साधनका चालकलाई ट्राफिक प्रहरीले कारवाही गरेको छ । सि.सि.टि.भिमा कैद भएको भिडियोका आधारमा लेन उल्लंघनमा ३१ जना, एकतर्फी सडकमा सो विपरीत सवारी साधन चलाएका २३ जना र सवारी मोड्न निषेध गरेको स्थानमा सवारी साधन मोडेका ८ जना चालकलाई कारवाही गरिएको हो ।
यससंगै, यात्रु लिन नमानेको कसुरमा १ जना चालकलाई पनि कारवाही गरिएको छ । भदौ १ गते देखी १४ गते सम्म काठमाडौं उपत्यकाको विभिन्न स्थानमा ट्राफिक नियम उल्लंघन गरेका चार सय २० जना चालक मध्ये ट्राफिक प्रहरीले खोजि गरी ल्याएका आएका ९७ जना चालक मध्ये ६३ जनालाई कारवाही गरिएको हो । अन्य चालकहरु हालसम्म ट्राफिक प्रहरीको सम्पर्कमा नआएकाले खोजि भईरहेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिनुभयो ।
सवारी नियम उल्लंघन गर्ने चालकलाई ट्राफिक प्रहरीले विगतमा गरिरहेको सि.सि.टि.भि फुटेजको आधारमा खोजि गरी गर्ने कारवाहीलाई थप तिब्रता दिदै अगाडी बढाईएको प्रवक्ता भट्टले बताउनु भयो ।