काठमाडौँ, भदौ १८। नेपाली चलचित्र क्षेत्रमा लामो समय कला निर्देशक र कलाकारको रुपमा काम गरेका उद्धव भट्टराई ‘जुंगे भट्टराई’ को निधन भएको छ । बैतडीबाट काठमाडौँ आउने क्रममा चितवनमा उनि आफै सवार बसमा मृत भेटिएका हुन् । दम रोगले ग्रस्त रहेका उनी ६६ बर्षका थिए।
आर्थिक अभावका कारण उनको उपचारमा समस्या आइरहेको थियो। कला निर्देशक र भेषभुषाको व्यवस्थापकको रुपमा उनले लामो समय नेपाली चलचित्र क्षेत्रमा काम गरेका थिए। पछिल्लो समय भने उनी काम बिहिन जस्तै बनेका थिए।
४४ बर्ष देखि कला क्षेत्रमा क्रियाशील थिए। चलचित्रमा देखिने असंख्य कुराहरू उनले बनाए, त्यसलाई कतिले सक्कली ठान्थे। नेपाली फिल्ममा पहिरन डिजाइनरका रूपमा काम गरे, 'प्रेमगीत ३’का लागि उनले ९३ वटा नक्कली बन्चरो बनाइदिएको चर्चा थियो ।
'सेतोबाघ’ फिल्ममा श्रीपेच र शेष नाग उनैले बनाए। 'माया पिरती’, ‘प्रेमपिण्ड’, युगदेखि युगसम्म’, 'राजमतिु', 'लर्ड बुद्ध', 'प्रेम पिण्ड', 'मुनामदन', 'जय बाबु पशुपतिनाथ’, ‘श्रिस्वस्तानी’ ‘भाग्यरेखा’, ‘सन्तान’ लगायतका थुप्रै फिल्ममा कला निर्देशकका रुपमा काम गरेका ‘जुंगे भट्टराई',ले रेडियो नेपालमा देउडा गीत पनि गाएका छन्। स्व. पत्रकार पुष्करलाल श्रेष्ठले राखिदिएको जुँगे भट्टराई उपनामले उनि जीवनभर चिनिए।