Kath Khabar
बुधबार नै कागजी कामहरू सकाएर जिल्ला अदालतबाट सन्दीप लामिछानेको पक्राउ पुर्जी माग्ने प्रहरीको तयारी



                 काठमाडौं, भदौ २२ । नेपाल प्रहरीले राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेमाथि जबरजस्ती करणीको आरोपमा सुक्ष्म अनुसन्धान भइरहेको नेपाल प्रहरीका प्रवक्ता डीआईजी टेकप्रसाद राईले जानकारी दिनुभएको छ।

प्रवक्ता राईका अनुसार जाहेरी परेको प्रहरी कार्यालय गौशाला र जिल्ला प्रहरी परिसर काठमाडौंले स‌ंयुक्त रूपमा अनुसन्धान अगाडि बढाएका छन् । प्रहरीले उनीहरू बसेको सिनामंगलस्थित होटलको सिसिटिभी फुटेज पनि संकलन गरिसकेको छ ।

गत भदौ ५ गते काठमाडौं र भक्तपुरका विभिन्न ठाउँमा लगेर लामिछानेले त्यसको भोलिपल्ट गौशाला क्षेत्रमा रहेको एक होटेलमा लगी बलात्कार गरेको जाहेरीमा उल्लेख छ । आफूले स्न्याप च्याटमार्फत लामिछानेसँग कुराकानी गर्ने गरेको र त्यसकै आधारमा भेट्न बोलाएर भदौ ५ मा नगरकोट घुमाउन लागेको पनि पीडित किशोरीले जाहेरीमा उल्लेख गरेकी छन् ।

बुधबार कागजी कामहरू सकाएर जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी माग्ने प्रहरीको तयारी रहेको तथा अनुसन्धान गर्दै जाँदा आवश्यक परेमा इन्टरपोलमार्फत् पक्राउ पुर्जी जारी गर्न सकिने पनि जानकारीमा आएको छ । पीडितलाई एकद्वार संकट ब्यवस्थापन केन्द्रमा लगी स्वास्थ्य परीक्षण गराइएको थियो ।

लामिछाने केन्याविरुद्ध ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृङखला खेल्न भदौ ६ गते नैरोबीतर्फ प्रस्थान गरेका थिए । उक्त आरोपका सन्दर्भमा लामिछानेले भने अहिलेसम्म कुनै प्रतिक्रिया दिइसकेका छैनन्।

प्रकाशित मिति: बुधबार, भदौ २२, २०७९  १४:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update