Kath Khabar
आर्थिक संकटमा फसेपछि व्यवसायी शुदर्शन घिमिरेले गरे आत्महत्या

              काठमाडौं, भदौ २४ ।  न्यूरोडमा रहेको रञ्जना ट्रेड सेन्टरको चौथो तलाको ‘पसल नम्बर २४’ अहिले बन्द छ । २४ नम्बरको स्वेत वराह इन्टरप्राइजेज शुदर्शन घिमिरेको हो। काभ्रेको नाला काभ्रेबोट घर भएका घिमिरे उनको गाउँमा नै पहिलो पटक अंग्रेजीमा मास्टर्स डिग्री सम्पन्न गर्ने व्यक्ति थिए । तर, समयसँगै उनी व्यापार व्यवसायमा आवद्ध भए । घिमिरे रेडिमेड कपडाको व्यापार गर्थे । न्यूरोडको राम्रो व्यापारीको छवि बनाएका शुदर्शन घिमिरेले गत मंगलबार आत्महत्या गरे । घिमिरेले मंगलरबार अर्थात् भदौ २१ गते आत्महत्याको बाटो रोजे ।

व्यवसायी रामकुमार तिमिल्सिनाका अनुसार घिमिरे ०६५-६६ देखि नै ठमेल क्षेत्रमा काम गर्न शुरु गरेका थिए । शुरुको समयमा अरु व्यवसायीकोमा काम गरी अनुभव हासिल गरिसकेपछि ०६६-६७ पछि महावौद्धबाट घिमिरेले आफ्नै व्यवसायको शुरुवात गरे । आम्दानीको विस्तारसँगै घिमिरेले ०७१ सालबाट रञ्जना ट्रेड सेन्टरमा व्यवसाय गर्न शुरुवात गरे । साथै पछिल्लो समयमा उनकी श्रीमतीले पनि निर प्लाजामा व्यवसाय गर्थिन् ।

घिमिरेका व्यवसायी साथीहरुका अनुसार ३ भाई मध्येका जेठा सन्तान थिए उनी । उनी ४३ वर्षका थिए । उनका बुबाआमा काभ्रेमै बस्थे । घिमिरेकी श्रीमती र छोराछोरी भने उनीसँगै गौरीघाटमा बस्थे । व्यवसायी तिमिल्सिनाका अनुसार कोरोना महामारी पछि अधिकांश व्यवसायीहरु आर्थिक रुपमा अत्यन्तै ठूलो पीडाबाट गुज्रिरहेका छन् । त्यही ठूलो पीडा घिमिरेलाई पनि पर्यो ।व्यवसायीहरुलाई एकिन रुपमा थाहा नभए पनि उनको बैंकमा ठूलो ऋण छ । उनी विभिन्न बैंक तथा वित्तीय संस्थासँग सहकार्य गरेर ऋण लिइरहेका थिए । उनी मासिक ४० हजार बढी सटर भाडा नै तिर्थे । तर, पछिल्लो समय भने आम्दानी कम हुने र ऋण भार यथावत नै रहेको कारणले उनलाई आर्थिक समस्याले थप समस्यामा पार्यो ।

उनलाई एक बैंकले ऋणको ब्याज तिर्न ताकेता गरिरहेको थियो । तर, उनले सो बैंकलाई ५ लाख रुपैयाँ तिर्नु पर्ने भयो । उनी सँग सो रकम थिएन । उनले धेरैलाई सहयोग मागे । तर, कसैले उनलाई पत्याएन । उनको घरमा पुगेर आएका व्यवसायीहरुका अनुसार आफ्नो सर्कलमा भएका अधिकांशलाई उनले ५ लाखरुपैयाँ सहयोग मागेका थिए ।

कसैले सहयोग नगरेपछि उनी काठमाडौंबाट काभ्रे लागे । काभ्रेमा रहेका बुबालाई उनले आफ्नो समस्या सुनाए । बुबाले ५ लाख रुपैयाँ दिने पनि बताए । तर, समय लाग्ने भनेपछि उनी काभ्रेको घरबाट पनि निस्किए । उनी काठमाडौं पनि फर्किएनन् । मंगलबार उनी काभ्रेको उनको घरमाथिको जंगलमाा मृत भेटिए ।

काभ्रे प्रहरीका अनुसार उनले आत्महत्या गरिएको बुझिएको छ । उनले आत्महत्या गर्नुअघि सुसाइड नोट पनि लेखेको भेटिएको प्रहरीको भनाइ छ । तर, सुइसाइट नोट भने अहिलेसम्म सार्वजनिक भएको छैन । व्यवसायीहरुका अनुसार घिमिरेले सुइसाइट नोटमा आफुलाई श्रीमती र छोराछोरीको धेरै माया लागिरहेको तर व्यवहारिक कारणले आफू आत्महत्या गर्ने स्थितिमा पुगेको उल्लेख गरेका छन् ।

रञ्जना ट्रेड सेन्टरमा व्यवसाय गर्दै आएका महेश पौडेलले व्यवसायीहरु नेपाल राष्ट्र बैंकले लिएको मौद्रिक नीतिका कारण पीडित भएको बताउँछन् । ‘हामीले तिर्नुपर्ने पैसा तिर्नको लागि वित्तीय संस्थाहरुले निकै दवाब दिन्छन्, पसल नै उठाउने धम्की दिन्छन्, तर हामीलाई थप लगानी गर्दैैनन्’, उनले भने, ‘घिमिरेलेजी ले आत्महत्या गर्नुपर्ने परिस्थिति आएकै बैंक तथा वित्तीय संस्थाहरुको कारणले हो ।’

साथै सधैँको दशैंमा व्यापारीहरुलाई चिनियाँ नाकाबाट सामान ल्याउने काममा समस्या हुने गरेको र त्यसबाट व्यवसायीमा सिर्जना भएको पीडामा राज्यले वास्ता नगरेको पौडेलको भनाइ छ । उनका अनुसार आत्महत्या गरेका व्यवसायी घिमिरे लगायत थुप्रै व्यवसायीहरुले खरिद गरेर ल्याएको सामान लामो समयदेखि नेपाल-चीन नाकामा रोकिएको छ ।

तर, सरकारले व्यवसायीहरुको सामान निर्णायक रुपमा छुटाउनको लागि कुनै पहल गरेको छैन । पौडेलका अनुसार व्यवसायी घिमिरे अरु कुनै कारणले नभएर वित्तीय संस्थाहरुको दबाब र राज्यको बेवास्ताले एउटा होनहार व्यापारीले आत्महत्या गर्नु परेको दुःख व्यक्त गरेका छन् ।
 

प्रकाशित मिति: शुक्रबार, भदौ २४, २०७९  ११:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update