Kath Khabar
काठमाडौंमा बिहानैदेखि भारी वर्षा


              काठमाडौं, भदौ २४ । राजधानी काठमाडौँमा बिहानैदेखि हल्का वर्षा भएको छ ।

काठमाडौँ उपत्यकासहित आसपासका क्षेत्रमा बिहानैदेखि वर्षा भइरहेको महाशाखाका मौसमविद् मञ्जु बासीले जानकारी दिनुभयो । उहाँका अनुसार काठमाडौँमा विगत तीन घण्टामा ४६ मिलीमिटर वर्षा मापन गरिएको छ । बारामा सबैभन्दा बढी एक सय १२ मिलीमिटर वर्षा भएको छ । “अहिले काठमाडौँ उपत्यका र आसपास हल्का वर्षा भइरहेको छ, बागमती प्रदेशका धेरैजसो क्षेत्रमा पनि वर्षा भइरहेको छ, वर्षा अझै केही दिन जारी रहने देखिन्छ”, मौसमविद् बासीले भन्नुभयो ।

उपत्यकामा खण्डितरूपमा कतिपय स्थानमा भारी वर्षा पनि भएको छ । सिंहदरबार, माइतीघर, पुतलीसडक, रत्नपार्क, त्रिपुरेश्वरलगायत क्षेत्रमा बढी वर्षा भएको जनाइएको छ । देशभरको वर्षा र तापक्रमको विवरण महाशाखाले हरेक दिन बिहान र बेलुका सार्वजनिक गर्ने गरेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही दक्षिणतिर अवस्थित रहेकाले बदलीसँगै वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावनाका साथै लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।

 

 

प्रकाशित मिति: शुक्रबार, भदौ २४, २०७९  १४:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update