काठमाडौं, भदौ २४ । बि.सं २०१७ फागुन १९ गते रानी रानी एलिजाबेथ चितवनबाट पोखरा पुग्नुभएको थियो । पोखरामा देशैभरबाट गोर्खा पूर्वसैनिकहरु वहाँको स्वागतका लागि पुगिसकेका थिए । पोखरा विमानस्थलमा पोखराका विद्यालयका छात्रछात्राहरूलाई पनि लगिएको थियो । सो दिन भारतीय पेन्सन क्याम्पमा पूर्व गोर्खा सैनिक पत्नीहरूलाई लुगा सिलाउने हाते मेसिन उपहार दिइएको थियो ।
रानी एलिजाबेथले पोखरामा सञ्चालित मिसन हस्पिटल अवलोकन गर्ने कार्यक्रम रहेको हुँदा बजार क्षेत्रमा पनि रौनक थपिएको थियो । स्वागतद्वारहरु बजारभरी बनाइएको थियो । भीमसेन टोलका स्थानीयहरुको सक्रियतामा बनाइएको सेलरोटीको स्वागतद्वारको चर्चा त्यो बेला निकै चलेको थियो । भीमसेन टोलमा 'भुत्ते'को नामले प्रख्यात सिद्धीलाल चुल्याजुले सेलरोटी बनाएका थिए भने सजाउने काम सबै टोलवासी मिलेर गरेका थिए ।
मिसन हस्पिटलबाट फर्कने क्रममा रानी एलिजाबेथ जिपमा फर्किनुभएको थियो भने प्रिन्स फिलिपले भने हिडेर फर्कने इच्छा राख्नुभयो । जसले गर्दा युवराज विरेन्द्रले साथ दिदै बिन्ध्यवासिनीबाट हिडेर बजारै बजार फर्किनुभएको थियो ।
- Sunil Ulak