Kath khabar
नेपाल टेलिकमले आजदेखि निःशुल्क इ-सिम वितरण गर्दै


             काठमाडौं, भदौ ३१ । नेपाल टेलिकमले लामो समयदेखि प्रतिक्षामा रहेको इ-सिम सेवा आज (शुक्रबार) देखि  सुरु गरेको छ । कम्पनीले आफ्नो सुन्धारा काउन्टरबाट यी भर्चुअल सिमकार्ड वितरण सुरु गरेको छ ।

इ-सिम कार्डहरू प्रिपेड र पोस्टपेड एनटीसी ग्राहकहरूका लागि उपलब्ध छन्। इ-सिम सपोर्ट गर्ने मोबाइल सेट भएका ग्राहकले नयाँ प्रविधिको सिम प्रयोग गर्नसक्ने टेलिकमले जनाएको छ। हाल फिजिकल सिम प्रयोग गरिरहेका कम्पनीका ग्राहकहरूका पोस्टपेड र प्रिपेड सिमलाई निःशुल्क इ-सिममा परिवर्तन गर्न सकिनेछ।

त्यसैगरी नयाँ पोस्टपेड लिन चाहने ग्राहकलाई हालको बिक्री मूल्यमा इ-सिम उपलब्ध गराइनेछ भने नयाँ प्रिपेड सिमकार्ड लिन चाहने ग्राहकलाई भने निकट भविष्यमा सो सिम उपलब्ध गराइनेछ। इ-सिम सपोर्ट गर्ने मोबाइल सेट भएका नेपाल टेलिकमका पहिलेदेखिका ग्राहकले सो सिम लिनका लागि आवश्यक फारम भरेर कम्पनीमा बुझाउनुपर्नेछ। अहिलेको लागि एनटिसि सुन्धारा काउन्टरबाट मात्र इ-सिम प्राप्त गर्न सकिन्छ ।

इ-सिम एक प्रकारको भर्चुअल अर्थात इलेक्ट्रोनिक सिम हो। इ-सिम उपलब्ध भएपछि अहिलेको जस्तो भौतिक रूपमा प्रयोग गरिने सिमकार्डको आवश्यकता पर्दैन। यसबाट फोन गर्ने र डाटा चलाउने लगायतका विभिन्न कार्य गर्न सकिन्छ। भौतिक सिम कार्डहरूको विपरित, इ-सिम कार्डहरूमा उपकरण भित्र एम्बेडेड चिप हुन्छ।

इ-सिम प्रयोगमा आएपश्चात सिमकार्ड परिवर्तन गर्नुपर्ने आवश्यकता हुँदैन, यो हटाउन सकिने पनि छैन । मोबाइल सेटबाहेक इ-सिमलाई अन्य डिभाइस तथा स्मार्ट वाच र शरीरमा पहिरिन योग्य विभिन्न प्रकारका डिभाइसहरूमा समेत प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ ।
  

प्रकाशित मिति: शुक्रबार, भदौ ३१, २०७९  १२:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update