
काठमाडौं, असोज ६ । बूढानीलकण्ठ नगरपालिका-११ कपनको लसुनटारमा गएराति भएको आगलागीमा परी ३ जनाको मृत्यु भएको छ। मृत्यु हुने तीनै जनाको पहिचान खुलेको छ । कपनको लसुनटारस्थित एलिट हिमालयन एडभेञ्चरमा पोर्टेबल अक्सिजन सिलिण्डर र चुलो बाल्नका लागि प्रयोग हुने पोर्टेबल ग्यास सिलिण्डर विष्फोट हुँदा आगलागी भएको थियो ।
मृत्यु हुनेमा काठमाडौँको रानीबारी बस्ने २५ वर्षीय छेवाङ शेर्पा, ताप्लेजुङका २७ वर्षीय कासाङ तेन्जी शेर्पा र सङ्खुवासभाका ३२ वर्षीय अशोक राई रहेका छन् । आगलागीमा परी कपनकै २८ वर्षीय कुशल बुढाथोकी घाइते भएका छन् उनको दुवै खुट्टा, दाँया हात र अनुहारको दायाँ भाग जलेको छ । उनको चुनिखेलस्थित करुणा अस्पतालमा उपचार भइरहेको छ ।
आगो निभाउन दुई सय प्रहरी, ७० नेपाली सेना सहित ३० सशस्त्र प्रहरी सहित स्थानीयवासीको सहयोगमा आगो निभाइएको थियो । उक्त आगलागी भएको कार्यालय हिमाल आरोही तथा बेलायती भूतपूर्व गोर्खा सैनिक निर्मल पुर्जा (निम्स दाइ) को भएको पाइएको छ।