
गोरखा, ११ असोज । उत्तरी गोरखाको मनास्लु हिमालको तेस्रो आधार शिविरमा सोमबार बिहान गएको हिमपहिरामा परेकाहरुमध्ये १० जनाको सकुशल उद्धार गरिएको छ । बेपत्ता मध्ये एक जनाको मृत्यु भएको थियो ।
मृत्यु हुनेमा सङ्खुवासभाका अनुप राई रहेकाे र मृतक राईको शव आधार शिविरबाट उद्धार गरेर काठमाडाैंको टिचिङ अस्पताल लैजाने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरीक्षक केदार खनालले जानकारी दिनुभयो ।
हिमपहिरामा परेका अन्य १० जनाको भने सकुशल उद्वार गरिएको प्रउ खनालले जानकारी दिनुभयो । सोमबार अबेरसम्म चार जनाको उद्धार गरिएको र थप छ जनाको आज बिहान उद्धार गरिएको उहाँले बताउनुभयो । आज बिहानैदेखि हेलिकोप्टरमार्फत पुगेको उद्वार टोलीले हिमपहिरामा परेका निमादोर्जे शेर्पा, दावा शेर्पा, फुरिता शेर्पा, लाक्पा तामाङ, निमा शेर्पा र फुर्ते शेर्पाको उद्वार गरेर सामागाउँ ल्याइएको प्रउ खनालले जानकारी दिनुभयो ।
सामागाउँसम्म ल्याइएका सबै घाइतेलाई उपचारका लागि बिहानै काठमाडौँ पठाइएको छ, उहाँले भन्नुभयो, उनीहरुको राजधानीस्थित करुणा अस्पतालमा भर्ना गरी उपचार सुरु भएको छ । पहिरामा परी उद्धार गरिएका दुई जनाको अवस्था भने सामान्य भएकाले उनीहरु आधार शिविरमा नै बसेर काम गरिरहेको उहाँले बताउनुभयो ।
हिमपहिरामा परेकाहको उद्वारका लागि आज बिहान सिम्रिक एयरको दुईवटा, कैलाश र एभरेष्ट एयरको एक-एक गरी चार हेलिकोप्टर परिचालन गरिएकाे थियाे ।