ललितपुर, असोज १४ । ललितपुर महानगरपालिका-१३ नख्खुखोला नजिक अवैध रुपमा लङ्गुर बुर्जा खेलिरहेको अवस्थामा हुम्ला खार्पुनाथ गाउँपालिका-१ घर भई ललितपुर महानगरपालिका-१३ कुसुन्ती बस्ने २५ वर्षीय प्रेम बूढा सहित ९ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
उक्त स्थानमा लङ्गुर बुर्जा खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख २४ हजार ६ सय ३० रुपैयाँ र लङगुर बुर्जा खेल्न प्रयोग भएका सामानहरू सहित पक्राउ गरेको हो ।
यसैगरी ललितपुरको ललितपुर महानगरपालिका-१५ खुमलटार बस्ने गौरी लामाको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४८ वर्षीय भरत बजगाईँ सहित ५ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । उनको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५ लाख ३५ हजार रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।