Kath Khabar
काभ्रेपलाञ्चोकमा एक व्यक्तिको डुबेर मृत्यु


        काभ्रेपलाञ्चोक, असोज १८। रोशी गाउँपालिका–३ बस्ने २७ वर्षीय अशोक तामाङको सोही ठाउँस्थित भण्डारी खोलामा डुबेर आइतबार दिउँसो मृत्यु भएको छ । उक्त खोलामा माछा मार्ने क्रममा डुबेर अशक्त भएका उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

विभिन्न स्थानमा मृत अवस्थामा फेला
दाङको घोराही उपमहानगरपालिका–२ डाङडुङे टोलस्थित गोरेटो बाटोमा सोही उपमहानगरपालिका–१ ठाटीकोट बस्ने ४१ वर्षीया रिमा परियार आइतबार मृत अवस्थामा फेला परेकी छन् ।

झापाको हल्दिवारी गाउँपालिका–१ बस्ने ७० वर्षीय हेचना मुर्म सोही गाउँपालिका–१ सृजनाचोकस्थित अदुवाखोलाको छेउमा आइतबार मृत अवस्थामा फेला परेका छन् । कास्कीको पोखरा महानगरपालिका–१० रामघाटस्थित सेती नदीको किनारमा सोही महानगरपालिका–३ नदीपुर बस्ने गोरखा पालुङ्टार नगरपालिका–८ घर भएका ७० वर्षीय भक्त राम परियार आइतबार मृत अवस्थामा फेला परेका छन् ।

नवलपरासी (पश्चिम) को सुनवल नगरपालिका–१ रोहिणी डाँडास्थित जंगलमा सुनवल नगरपालिका–११ मिश्रौली बस्ने २९ वर्षीय खेम नारायण चौधरी आइतबार मृत अवस्थामा फेला परेका छन् । गत बिहीबार घरबाट हिँडेका उनी फर्की नआएपछि खोजी गर्ने क्रममा उक्त जंगलमा उनको शव फेला परेको हो । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–१० चौहर्वा बस्ने ५२ वर्षीय काशीनाथ यादव आफ्नै घर नजिक पोखरीमा आइतबार मृत अवस्थामा फेला परेका छन् । शनिबार बेलुकी घरबाट निस्किएका उनी फर्की नआएपछि खोजी गर्ने क्रममा उक्त पोखरीमा डुबेको अवस्थामा उनको शव फेला परेको हो ।

नुवाकोटको बिदुर नगरपालिका–४ फेदीगाउँ डेरा गरी बस्ने धादिङ निलकण्ठ नगरपालिका–१२ सांकोस घर भएकी ३० वर्षीया मिना राई आफ्नै कोठाभित्र सोमबार मृत अवस्थामा फेला परेकी छन् । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–३ त्रिवेणी मोडस्थित सडकको गल्लीमा हाल नाम, थर, वतन नखुलेका करिब ४० वर्षीय पुरूष सोमबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

 

प्रकाशित मिति: मंगलबार, असोज १८, २०७९  १२:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update