
काठमाडौं, असोज १९ । आज देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेशका केही, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका धेरै र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।
गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका धेरै, प्रदेश १ र बागमती प्रदेशका केही, तथा मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको र गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा भारीदेखि अति भारी वर्षा तथा मधेस प्रदेश र बागमती प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले उक्त क्षेत्रहरूमा भू–क्षय, पहिरो तथा गेग्रान बहाव को जोखिमका साथै सडक तथा हवाई यातायातमा सामान्य प्रभावको सम्भावना रहेको छ ।
साथै आज नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने साथै कृषि, पर्यटन, पर्वतारोहणलगायत दैनिक जनजीवन समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले जनाएको छ ।
आज पश्चिम राप्ती जलाधारको धेरै स्थानमा पछिल्लो ६ घन्टा अति भारी बर्षा मापन भएको र थप बर्षा हुने तथा पश्चिम राप्ती भालुबाङ र कुसुम जलमापन केन्द्रमा जलसतह एक्कासी बढ्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । साथै तटीय क्षेत्र र डुवान हुने होचा स्थानमा दिउँसो १२ बजेसम्म उच्च सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।