Kath Khabar
बारा बस दुर्घटनामा मृत्यु हुनेको संख्या १६ पुग्यो


             मकवानपुर, असोज २०। बारा जिल्लाको अमलेखगन्जस्थित ३ नम्बर पुल नजिक भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १६ पुगेको छ । मृत्यु भएका नौजनाको सनाखत भएको छ ।  

हेटौँडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएका १२ जनामध्ये नौ को सनाखत भएको प्रहरी उपरीक्षक बामदेव गौतमले जानकारी दिए । मृत्यु हुनेमा पर्साको विरगन्ज महानगरपालिका–१६ की मुन्नीदेवी चौरसिया, हेटौँडा उपमहानगरपालिका–७ की ५५ वर्षीया शुभलक्ष्मी श्रेष्ठ, सोही स्थानकी २० वर्षीया स्वस्तिका श्रेष्ठ, बाराको कलैया–१० का नगरीन खातुन, बाराको अमलेखगञ्जका सुरेश विक, बाराको कलैयाका इन्ताज अन्सारी, खोखलढुङ्गाका ४५ वर्षीय लालबहादुर बोगटी, गोर्खाकी अम्बिका काडेल र पर्साको विरगन्ज–१६ का सकेमप्रसाद चौरसिया एसपी गौतमले जानकारी दिए।

बसमा सवार यात्रुको सङ्ख्या एकिन हुन नसके पनि झण्डै ५० जना सवार रहेको प्रहरीले जनाएको छ । नारायणगढबाट वीरगञ्जतर्फ जाँदै गरेको बा ०६–००१ ०११० नम्बरको बस जीतपुर सिमरा उपमहानगरपालिका–२२ अमलेखगञ्जमा दुर्घटना भएको हो ।

घाइते २० जनालाई भरतपुर लगियो
दुर्घटनामा घाइते ३६ मध्ये २० जनालाई थप उपचारका लागि चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेज लगिएको छ। हेटौंडाको हेटौंडा अस्पताल, चुरेहिल अस्पताल, सञ्चो अस्पताल र मकवानपुर सहकारी अस्पतालमा प्राथमिक उपचारपछि चितवन पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बलराम श्रेष्ठले जानकारी दिए।

प्रहरीका अनुसार हेटौंडा उपमहानगरपालिका–१४, नयाँबस्तीका १४ वर्षीय अमृत लोप्चन, सोही ठाउँका १२ वर्षीय विज्ञान घिसिङ, चितवनको खैरेनी नगरपालिका–८ का ५४ वर्षीय भीमसेन अधिकारी र खैरहनीकै ३८ वर्षीया रविना अधिकारीलाई उपचारका लागि चितवन लगिएको हो।

यसैगरी हेटौंडा उपमहानगर–१४ चुरियामाईकी ३४ वर्षीया ठूलीमाया स्याङ्तान, सोही स्थानकी ३५ वर्षीया  मञ्जुकुमारी लोप्चन, पर्साको वीरगञ्ज महानगरपालिका–१६ की २२ वर्षीया रविना चौरसिया, सोही स्थानका २५ वर्षीय सन्दिप चौरसिया, ४० वर्षीया लक्ष्मीदेवी चौरसिया र ६२ वर्षीया मालती चौरसिया पनि उपचारका लागि चितवन लगिएको प्रहरीले जनाएको छ।

यस्तै हेटौंडा उपमहानगर–७ की १७ वर्षीया सोनिया श्रेष्ठ, बाराको जीतपुर सिमरा उपमहानगरपालिका–२२ का ११ वर्षीय शिशिर विक, हेटौँडा उपमहानगर–१४ का १५ वर्षीय प्रशान्त स्याङ्तान, वीरगञ्ज महानगर–१६ का ११ वर्षीय दिवी आयान चौरसिया, सोही स्थानका प्रिन्स चौरसिया, चितवनका २० वर्षीय आयुस बाँस्तोला र वीरगञ्ज–१६ का सात वर्षीय दीपेश चौरसियालाई पनि थप उपचारका लागि चितवन लगिएको प्रहरीले जनाएको छ। (RSS)

 

 

 

 

 

प्रकाशित मिति: बिहीबार, असोज २०, २०७९  १७:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update