
काठमाडौं, असोज २४ । काठमाडौं महानगरपालिका–१५ कारखानाचोक नजिक सडक पेटीमा हाल नाम थर वतन नखुलेका करिब ३६ वर्षीय पुरूष सोमबार मृत अवस्थामा फेला परेका छन् ।
डोटीको जोरायल गाउँपालिका–५ सेलकुटीगाड बस्ने १८ वर्षीया छाया कुमारी भण्डारी आफ्नो घर नजिक भुकुण्डीगाडमा आइतबार मृत अवस्थामा फेला परेकी छन् । नुहाउन गएकी उनी अबेरसम्म पनि घर नफर्किएपछि खोजी गर्ने क्रममा उक्त स्थानमा उनको शव फेला परेको हो ।
दाङको तुलसीपुर उपमहानगरपालिका–६ हात्तखौवास्थित बाटोको छेउको खाल्डोमा सोही उपमहानगरपालिका–१ बयालकोट घर भई तुलसीपुर उपमहानगरपालिका–६ बस्ने ४४ वर्षीय लुम प्रशाद भण्डारी सोमबार मृत अवस्थामा फेला परेका छन् । पाल्पाको रिब्दिकोट गाउँपालिका–२ मसार बस्ने २२ वर्षीया रेश्मी बिक आफ्नै कोठामा सोमबार मृत अवस्थामा फेला परेकी छन् ।
मकवानपुरको भिमफेदी गाउँपालिका–८ धार्केखोला दोभानस्थित बागमती खोलाको किनारमा हाल नाम, थर, वतन नखुलेका करिब ३० वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् । बागलुङको गलकोट नगरपालिका–६ स्थित दरम खोलाको किनारमा हाल नाम, थर, वतन नखुलेका ५५ वर्षय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।