
काठमाडौं, असोज २६ । काठमाडौंको नक्सालस्थित होटेल क्राउन प्लाजामा भएको शंकास्पद घटनापछि एक युवतीको मृत्यु भएको छ । चाबहिल बस्ने २३ वर्षीय युवतीको आगोबाट जलेपछि उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीले सो घटनामा संलग्न भएको आरोपमा होटेलका दुई कर्मचारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुलीको गोलन्जोर गाउँपालिका-६ का ३७ वर्षीय पदमकुमार श्रेष्ठ र जितपुर सिमरा उपमहानगरपालिका-१४ का २६ वर्षीय केशव रिजाल रहेका छन् ।
होटेलमा आगोबाट जलेर घाइते भएपछि रिजालले ती युवतीलाई वीर अस्पताल पुर्याएका थिए । त्यहाँ उपचार सम्भव नभएपछि वीरले थप उपचारका लागि कीर्तिपुर अस्पताल रिफर गरेको थियो । कीर्तिपुर अस्पतालमा उपचारका क्रममा ती युवतीको सोमबार बिहान मृत्यु भएको हो । रिजाल र ती युवती प्रेमी-प्रेमिका भएको प्रहरीको आशंका छ । रिजाललाई होटेलमै बसेको र घटना घटाएको आशंकामा पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानमा युवतीको शरीरमा पेट्रोल छर्किएर आगो लागेको देखिएको छ ।
सोमबार बिहान होटेलमा उक्त घटना भए पनि प्रहरीलाई खबर नगरी गुपचुप राखेको भन्दै अनुसन्धानका लागि प्रहरीले श्रेष्ठलाई पक्राउ गरेको हो। युवतीको शव सोमबार नै पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ । उनीहरूविरुद्ध काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।