
काठमाडौं, असोज २६ । यतिबेला फेसबुकमा जताततै फलोअर्स घटेको चर्चा छ । फेसबुक अर्थात मेटाका संस्थापक मार्क जुकरबर्गको फलोअर्स पनि करोडबाट घटेर ९,९९४ मा आएको छ ।
अर्थात् हिजोसम्म जसका केही लाख, करोड वा केही हजार फलोअर थिए, आज ती सबै १० हजारमा झरेका छन् । सबै प्रयोगकर्ताले फलोअर्स घटेको गुनासो गरिरहेका छन् । तर फलोअर्स घट्नुको कारण भने स्पष्ट हुन सकेको छैन ।
फेक अकाउन्टको गुनासोलाई लिएर फेसबुकले समय समयमा यस्ता अकाउन्ट कारबाही गरिरहन्छ, जसका कारण मानिसका फलोअर्स घट्दै गएका छन् । तर यसपटक फलोअर्सको संख्या निकै कम भएको छ । त्यसमा पनि विशेष कुरा के छ भने सबैका फलोअर्स १० हजारमा झरेका छन् । जुकरबर्गको फलोअर संख्या ४ करोड देखि १० हजार भन्दा कममा आएको छ।
यस वर्षको अप्रिलदेखि जुनसम्म मेटा कम्पनीले विश्वभर एक अर्ब ६० करोड फेक अकाउन्ट बन्द गरेको थियो, त्यही कारण फलोअर्स घटेको हुन सक्ने जवाफ दिएको न्युजविकले उल्लेख गरेको छ। कतिपयले यो फेसबुकको बगको नतिजा हुनसक्ने पनि बताएका छन् । यसअघि पनि धेरै पटक यस्तो भएको छ । यो कुरालाई लिएर अझै फेसबुकले पनि आधिकारिक रुपमा कुनै वक्तव्य जारी गरेको छैन ।