
काठमाडौं, असोज २६ । किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचाररत रहेका शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्यमा केही सुधार भएको अस्पतालका निर्देशक प्रा डा सुरज बज्राचार्यले जारी गरेका बुलेटिनमा जनाइएको छ ।
उनका अनुसार जोशीले सामान्य दोहोरो कुरा गर्ने हुनुभएको छ । “उहाँ सामान्य दोहोरो कुरा गर्नसक्ने अवस्थामा हुनु भएको र कमजोरी कायमै रहँदा उहाँलाई डिलक्स क्याविनमा सिफ्ट गरी सधन उपचार कक्ष (आइसियु) सरहकै सुक्ष्म निगरानीमा नर्सिग तथा मल्टीडिसिप्लिनरी केयरसहित उपचार गरिएको छ”, बुलेटिनमा भनिएको छ ।
जोशीको पछिल्लो समयमा देखिएको निमोनियाको सङ्क्रमणका साथै मुटुको चालसम्बन्धी समस्याको उपचारसमेत जारी राखिएको छ । खकार परीक्षण गर्दा एन्टिबायोटिक्स् कोर्स निरन्तर दिइनुपर्ने देखिएको अस्पतालले जारी गरेको बुलेटिनमा उल्लेख गरिएको छ ।
स्वास्थ्यमा समस्या आएपछि १९ दिनदेखि उहाँको अस्पतालमा राखेर उपचार गरिएको छ ।