
काठमाडौं, असोज २७ । धेरैको मनमा उठिरहेको जिज्ञासा, जाहेरीकर्ता कहाँ छिन् ? आरोपी सन्दीपलाई ‘डे वान’ बाटै सार्वजनिक गरेको प्रहरीले जाहेरीकर्तालाई भने गोप्य राखिरहेको छ । कानूनी व्यवस्थाअनुसार पनि यौनजन्य अपराधमा जाहेरी दिनेको पहिचान गोप्य राख्नुपर्ने हुन्छ । प्रहरी स्रोतका अनुसार जुनेली माइती नेपालको संरक्षणमा छिन् । जाहेरी दर्ता भएको २-३ दिनपछि प्रहरीले उनलाई माइती नेपालकी अनुराधा कोइरालाको जिम्मा लगाएर पठाएको हो ।
कोइरालाले जुनेलीलाई निकै कडा निगरानीमा राखेकी छिन् । उनलाई बाहिर निस्किन दिइएको छैन । बाहिरबाट आउनेहरुले पनि उनीसँग भेट्न पाउँदैनन् । उनलाई कलेज जान पनि अनुमति नदिइएको स्रोतले बतायो । माइती नेपालभित्रै शिक्षकको प्रवन्ध गरेर पठनपाठन गराइएको स्रोतको दाबी छ ।
सामाजिक सञ्जालमै आश्रय लिनुपर्ने खालको अवस्था जुनेलीको छैन । उनले माइती नेपालको कथित संरक्षणबाट बाहिर निस्किन चाहेकी छन् । तर, बाहिर निस्केपछि उनले बयान फेर्ने चिन्ताले गर्दा अनुराधाले त्यो अनुमति नदिएको स्रोतले बतायो । साथै माइती नेपालका काउन्सिलरले उनलाई बयान नफेर्न निरन्तर काउन्सिलिङ र ब्रेनवास गरिरहेका छन् ।
के पल शाह प्रकरणमा जस्तै यसमा पनि अन्तत्वगत्वा जाहेरीकर्ताले बयान फेर्लिन् त ? स्रोतले त्यो सम्भावना नकार्न चाहेन । ‘यदि माइती नेपालको कब्जाबाट फुत्किइन् भने बयान फेर्न सक्ने सम्भावना पनि छ’, स्रोतले भन्यो ।