
काठमाडौं, असोज ३१ । जजिरा एअरवेजले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक हुँदै आएको उडानलाई कटौती गरेको छ । जजिरा एअरवेजले गएको २६, २७ र २८ गते हुनुपर्ने उडान रोकेपछि यो हवाईजहाज हुँदै वैदेशिक रोजगारीमा जाने यात्रु लगायत अन्य यात्रु समेत प्रभावित भएका थिए । यात्रुहरू गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमै रातभरि बसेर विमान कुरे पनि जजिराले उडान भरेन । यात्रु नभएको बताउँदै जजिराले दैनिक हुँदै आएको उडानलाई सातामा ३ पटक गर्ने जानकारी दिएको छ।
३ दिनसम्म जम्मा भएका यात्रुहरूमध्ये केही पर्यटक मात्र बोकेर अस्ति जजिराले एउटा उडान भरेको गौतमबुद्ध विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले जानकारी दिनुभयो । दाहालले जजिरा एअरवेजको आधिकारिक प्रतिनिधिले जहाजको लिज सकिएको र नयाँ जहाज खरिद गर्ने प्रक्रियामा रहेको कारण नियमित उडान प्रभावित हुने जानकारी गराएको बताउनुभयो ।
उहाँले अक्टोबर महिनामा जजिराले नियमति उडान गर्न नसक्ने बताउँदै अक्टोबर पछि उडान नियमित हुने आश्वासन दिएको पनि बताउनु भएको छ । जजिरा एअरवेजका कन्ट्री म्यानेजर अमित नागरथले भने यात्रु नपाएको कारण उडान कम गर्नु परेको बताउनु भएको छ।
नागरथले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा माग नै नरहेको दाबी गरे। ‘मागअनुसार नै आपूर्ति गर्ने हो। खाली विमान कहिलेसम्म उडाउने ? हामी भनेको व्यापार गर्न आएका हौँ, आफ्नो खर्च पनि नउठ्ने ठाउँमा विमान चलाउदैनौँ,’ उनले भने।
जजिराको उडान प्रभावित हुनुमा यहाँका सरकारी निकायहरुको पनि उत्तिकै दोष रहेको छ। तत्कालीन श्रममन्त्री किसान श्रेष्ठले चर्चाकै लागि भैरहवामा स्थापना गरेको श्रम कार्यालयले अहिलेसम्म काम गरेको छैन।
गौतमबुद्ध विमानस्थलका प्रमुख गोविन्दप्रसाद दाहालले यात्रुहरु अहिले पनि श्रम, रोजगार, मेडिकल लगायत कारण काठमाडौँ मै जानु परेको समस्याका कारण पनि विमानस्थल सञ्चालनमा कठिनाइ आएको बताए।