
काठमाडौं, कात्तिक ४। फूलै फूलको चाड तिहार नजिकिएको छ। तिहारमा प्रयोग हुने भाइमसला, झिलिमिली बत्ती लगायतका वस्तु बाहिरबाट आयात हुने भएपनि फूलमा भने नेपाल आत्मनिर्भर बनिसकेको छ।
तिहारका लागि प्रयोग हुने फूल नेपाली उत्पादनले नै पुग्दै आएको व्यवसायीहरू बताउँछन्। नेपालमा फुलेको सयपत्रीले नै तिहार मनाइँदै आएको फ्लोरिकल्चर एसोसिएसनका महासचिव विश्वमणी पोखरेलको भनाइ छ। उनका अनुसार तिहारका लागि २० लाख सयपत्री र सवा ३ लाख मखमली माला फूलको माग छ। त्यसमध्ये, १७ लाख सयपत्री यहीँ उत्पादन हुन्छ। बाँकी ३ लाख माला भने भारत लगायत अन्य मुलुकबाट ल्याउनु पर्छ।
व्यवसायीले उत्पादन बढाए पनि सोही अनुरूप माग बढ्ने हुनाले थोरै मात्रामा स्वदेशी उत्पादनले नपुग्ने गरेको उनको दाबी छ। सयपत्रीमा हामी आत्मनिर्भर भइसके पनि भारतबाट ठूलो मात्रामा फूल आयात हुन्छ। आयात प्रतिस्थापन गर्न सरकारले स्वदेशी फूलको लागत कम गर्ने कार्यक्रम ल्याउनु पर्ने उनी बताउँछन्।
बाह्रै महिना उत्पादन हुने टनेल बनाउन सहयोग गर्ने, बिउ उत्पादन गर्ने, सरकारी खाली जमिन किसानलाई भाडामा दिने लगायत कार्यक्रमले आयात प्रतिस्थापनमा सघाउँछ, उनले भने। सरकारका सबै निकायले यसमा ध्यान दिनुपर्ने उनको भनाइ छ। साथै सरकारले फूलको अध्ययन, अनुसन्धान र प्रविधि प्रयोगमा जोड दिनुपर्ने उनले बताए।
आयातित मालाभन्दा यहीँ उत्पादित फूल ताजा र सुन्दर हुने भएकाले ग्राहकलाई नेपाली माला किन्न उनले सुझाएका छन्। बाहिरबाट आउने माला धेरै अगाडि तयार पारिएको हुन्छ, ताजा देखिँदैन, स्वदेशी माला ताजा देखिन्छ, उनले भने।
उनका अुनसार यस वर्ष सयपत्री मालाको थोक मूल्य (एक मिटर) ५० देखि ५५ रूपैयाँ छ। त्यस्तै, मखमली माला भने ४० रूपैयाँ छ। उपभोक्ता मूल्य भने व्यापारीको कमिसनमा भर पर्ने उनी बताउँछन्। व्यापारीले कति कमिसन राख्छन् हामीलाई थाहा हुँदैन, हामीले थोक मूल्य बताइदिएका छौं, त्यही अनुसार उपभोक्ताले मूल्य तिर्नु होला।
मखमली मालामा भने नेपाली रहेको विदेशी मुलुकमा निर्यात हुने गरेको छ। एसोसिएसका अनुसार वर्षेनी १ देखि डेढ लाख बाहिर जाने गरेको छ। देशमै सबैभन्दा धेरै फूल खपत हुने ठाउँ बाग्मती प्रदेश हो। त्यसमा पनि आधाभन्दा बढी हिस्सा काठमाडौंले ओगटेको तथ्यांकले देखाउँछ।
नेपालका प्रायः सबै भू-भागमा सयपत्री फूल खेती हुन्छ। काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, धादिङ, नुवाकोट, चितवन, मकवानपुर र सिन्धुली लगायत केही जिल्लामा व्यवसायिक फूल खेती हुँदै आएको छ।
एसोसिएसनका अनुसार अहिले नेपालमा ७ सय बढी पुष्प व्यवसायीहरू छन्। ४३ भन्दा बढी जिल्लामा पुष्प खेती विस्तार भइसकेको छ। हाल लगभग १ सय ५५ हेक्टर क्षेत्रफलमा पुष्प व्यवसाय भइरहेको छ।