
कावासाेती, कात्तिक १३ । पाल्पाको रामपुरबाट गोरखाको मनकामना जाँदै गरेको दर्शनार्थी चढेको बस दुर्घटनामा मृत्यु हुने सबैकाे पहिचान खुलेको छ ।
३५ तीर्थयात्री रहेको ना६ख ७५८० नम्बरको सो बस नवलपरासीपूर्वको बुलिङ्टार गाउँपालिका–२ मथारमा सडकबाट करिब एक सय ५० मिटर तल खस्दा आज विहान दुर्घटनामा परेको थियो । घटनास्थलमै पाँच जनाको मृत्यु भएको ३० घाइते भएका इलाका प्रहरी कार्यालय बुलिङ्टारले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सन्तोष पाठकका अनुसार मृत्यु हुनेमा पाल्पा रम्भा गाउँपालिका– १ का तारा विक, विनय विक, धनी विक, देवी गाहा र स्याङ्जा गल्याङ नगरपालिका–९ बेलचौरकी फूलमाया माझी छन् ।
त्यसैगरी दुर्घटनामा घाइते हुनेमा बसचालक पाल्पा रामपुर नगरपालिका– ३ गण्डकी ढिक बस्ने दिलकुमार श्रेष्ठ, बस सहचालक रामपुर– ४ बेझाड बस्ने साजन श्रेष्ठ, रम्भा– १ का अङ्कित सुनार, कृष्ण केवट, प्रवीण सुनार, रामबहादुर विक, रीता विक, कासीराम विक, विशाल विक, आइसा विक, अविनाश विक, पुष्पा विक, मेघनाथ विक छन् ।
त्यसैगरी स्याङजा बेलचौर नगरपालिका– ९ की दिलमाया राना, रविन राना, पाल्पा झडेवाकी सुमित्रा विक, रम्भा गाउँपालिका– १ की रिमा विक, सन्जु सुनार, प्रेमबहादुर सुनार, आषिश सुनार, विजय विक, माया विक, स्याङ्जा गल्याङ– ८ का मनोजकुमार विक, सरिता माझी, उमाकुमारी विक, रामु राना, रम्भा– १ की अस्मिता सुनार, ओमबहादुर विक, सेती विक र शिवकुमारी विक रहेका प्रहरीले जनाएको छ ।
घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको र सबै घाइतेको चितवनको भरतपुरमा उपचार भइरहेको छ ।