Kath Khabar
ग्रेडर मेशिन हाक्छिन् अनिता

 

              दाङ, कात्तिक २५ । दाङको घोराही सहरदेखि गाउँसम्म बिग्रिएका सडक बनाउनेदेखि नयाँ सडकको ट्र्याक खन्ने काममा व्यस्त हुनुहुन्छ, अनिता थारु । साना गाडी चलाउने महिलाको सङ्ख्याभन्दा ठूला गाडी चलाउने महिला न्यून छन् । तर अनिताले भने विगत चार वर्षदेखि दाङलगायत ठाउँमा सडक तथा पुल निर्माण गर्न ग्रेडर मेशिन चलाउँदै आउनुभएको छ ।

उहाँ डेढ वर्षदेखि घोराही उपमहानगरपालिकामा ग्रेडर अपरेटरका रूपमा कार्यरत हुनुहुन्छ । अनिताले पछिल्लो समय भने उपमहानगरपालिकाभित्रका विकासका काममा ग्रेडर मेशिन चलाउँदै आउनुभएको छ । १२ कक्षासम्म अध्ययन सकेर घरमै बसेको समयमा आफन्तको सहयोगमा उहाँ बर्दियाबाट दाङ आएर ग्रेडर मेशिन चलाउन थाल्नुभएको हो । ‘मैले यतै आएर चलाउन सकेकी हुँ’, चालक अनिता बताउनुहुन्छ ।

‘कमजोर आर्थिक अवस्थाका कारण पढाइलाई अघि बढाउन नसकेर घरमै बसेकी थिएँ’, उहाँले भन्नुभयो, ‘घरमा त्यसै बस्नुभन्दा ग्रेडर मेशिन चलाउन सिक्ने सोच बनाएर दाङ आएकी हुँ ।’ घोराही-मुर्कुटी सडक बनाउने काममा अनिताका भिनाजुले ग्रेडर मेशिन चलाउनुहुन्थ्यो । उहाँसँगै त्यस सडक निर्माण गर्ने कम्पनीमा सहायक ग्रेडर अपरेटरका रूपमा एक वर्ष काम गरेपछि ग्रेडर चलाउन सक्ने भएको अनिता बताउनुहुन्छ ।

निर्माणको क्षेत्रमा काम गर्न कठिन भए पनि आत्मविश्वास र मेहनतले सफलता हासिल गर्दै गएको उहाँको भनाइ छ । झन्डै एक वर्ष चलाउन सिकेपछि अनिताले मेशिन राम्ररी चलाउन सक्ने हुनुभयो । तर उहाँसँग सवारी चालक अनुमतिपत्र भने थिएन । यसका लागि २०७६ भदौमा तुलसीपुरमा परीक्षा दिनुभयो । परीक्षमा सहभागी १३ जनामध्ये उत्तीर्ण हुने अनिता भने एक्ली महिला हुनुहुन्थ्यो ।

‘पहिलो प्रयासमै सवारी चालक अनुमतिपत्र लिन सफल भएँ’, अनिता भन्नुहुन्छ । उहाँले त्यसपछि जागिरका क्रममा दाङ र बर्दियाका विभिन्न ठाउँमा निर्माणसम्बन्धी काम गर्नुभयो । ‘ग्रेडर मेशिन चलाउन सक्थेँ, तर लाइसेन्स नहुँदा समस्या थियो’, उहाँले भन्नुभयो, ‘२०७६ भदौमा लाइसेन्स खुलेपछि ट्रायल दिए । ट्रायलमा पास भएपछि मलाई काममा सहजता भयो ।’ अन्य सवारी साधनभन्दा चलाउन कठिन भए पनि अनुभवले गर्दा सहज लाग्ने गरेको उहाँ बताउनुहुन्छ ।

‘अन्य उपकरणभन्दा यो चलाउन निकै कठिन हुन्छ’, चालक अनिता भन्नुहुन्छ, ‘तर आफूभित्रको आत्सविश्वास र निरन्तरको मेहनतले मलाई अहिले सहज भएको छ ।’ बेरोजगार बस्नुभन्दा कुनै पनि सीप सिकेर काममा लाग्न उहाँको अरू महिलालाई सल्लाह छ ।

निर्माणका क्षेत्रमा महिलालाई काम गर्न कठिनाइ भए पनि आफ्नो कामबाट आफू सन्तुष्ट रहेको अनिताको भनाइ छ । ‘निर्माणको क्षेत्रमा काम गर्न गाह्रो भए पनि मलाई यही पेसामा सन्तुष्टि छ’, अनिताले भन्नुभयो, ‘धेरै पढेको भए ठूलो अपेक्षा हुन्थ्यो र अरू काम खोजिन्थ्यो  होला । पढ्न सकिएन । त्यसैले ग्रेडर अपरेटर नै मेरा लागि ठिक छ ।’

अनिता परिवारका चार सन्तानमध्ये एक्ली छोरी हुनुहुन्छ । स्थानीय सूर्य माध्यमिक विद्यालयबाट १० कक्षा उत्तीर्ण गर्नुभएकी उहाँले बाँकेको कोहलपुरमा रहेको बागेश्वरी माध्यमिक विद्यालयबाट १२ कक्षा उत्तीर्ण गर्नुभएको हो । कमजोर आर्थिक अवस्थाका कारण अनिताले पढाइ छोडेर मेशिन चलाउन थाल्नुभयो ।

सुरुमा चलाउँदा महिलाले पनि ग्रेडर मेशिन चलाउँछन् भनेर धेरैले हेर्न आउने गरेको उहाँ सम्झिनुहुन्छ । ‘अहिले सबैलाई सामान्य लाग्न थालिसकेको छ’, अनिताले भन्नुभयो । (रासस)

प्रकाशित मिति: शुक्रबार, कात्तिक २५, २०७९  १५:११
प्रतिक्रिया दिनुहोस्
Weather Update