Kath Khabar
११ घन्टापछि फूलचोकीमा हराइरहेका ४ विद्यार्थीको उद्धार


               ललितपुर, कात्तिक २७ । ललितपुरको फुल्चोकीमा हराएका ४ जना विद्यार्थीको उद्धार भएको छ। फुल्चोकीमा हराएका ४ जना विद्यार्थीको ११ घण्टापछि उद्धार गरेको जिल्ला प्रहरी परिसर ललितपुरले जानकारी दिएको छ। 

काठमाडौंको मुलपानीमा रहेको नेपाल राष्ट्रिय निर्माण माध्यमिक विद्यालय कक्षा ११ र १२ मा पढ्ने १२५ जना विद्यार्थी फुल्चोकीमा घुम्न गएका थिए। उनीहरूसँग ९ जना शिक्षक पनि थिए। 

शनिबार दिउँसो करिब २ बजे फर्किने क्रममा उनीहरूमध्ये ४ जना विद्यार्थी हराएका थिए। छोटो बाटो हिँड्न खोजेपछि उनीहरू जंगलमा हराएको प्रहरीले जनाएको छ।

शिक्षक र विद्यार्थीहरूले मिलेर खोज्दा पनि फेला नपरेपछि शनिबार साँझ करिब ७ बजेतिर उनीहरूले प्रहरी प्रभाग बाडेगाउँमा खबर गरेका थिए। खबर पाएपछि प्रहरी निरीक्षकसहित खटिएको २० जनाको टोलीले मध्यराति १ बजे उनीहरूलाई फेला पारेको परिसरले जनाएको छ। उनीहरूलाई फेला पारेर शिक्षकको जिम्मा लगाएको प्रहरीले जनाएको छ। 

प्रकाशित मिति: आइतबार, कात्तिक २७, २०७९  १६:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update