Kath Khabar
दोहा उड्नु पर्ने ६० यात्रीलाई सुन्धाराको बास...

 

              काठमाडौं, मंसिर २ ।  नेपाल एयरलाइन्सको जहाजबाट गएराति कतारको दोहा जान लागेका यात्रुहरुलाई जहाजका सबै सिट भरिएको भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै फर्काइएको छ । गएराति ११ बजेको उडानका लागि टिकट काटेर एयरपोर्ट पुगिसकेका यात्रुहरुलाई जहाज प्याक भइसकेको भन्दै फर्काइएपछि आक्रोशित यात्रुहरु विरोध जनाउन नागरिक उड्डयन प्राधिकरणको कार्यालय पुगेका छन् ।

एकजना यात्रु लक्ष्मीप्रसाद दाहालले भने, ‘टिकट हाम्रो हातमा छ तर जहाजका सबै सिट प्याक भयो, अब तपाईंहरुको फ्लाइट पर्सि हुन्छ भनेर हामीलाई फर्काइयो ।’ आफूसहित करिब ६० जना यात्रुहरुलाई फर्काइएको दाहाल बताउँछन् । उनीहरुलाई एयरलाइन्सले सुन्धाराका होटलहरुमा लगेर राखेको छ ।

उनका अनुसार गएराति ११ बजेको उडानका लागि राति ८ बजे नै एयरपोर्ट पुग्दा नेपाल एयरलाइन्सको काउन्टर क्लोज भइसकेको थियो । त्यहाँका कर्मचारीहरुले सिट फूल भइसकेको भन्दै यात्रुहरुलाई होटलमा लगेको दाहालले बताए । नेपाल एयरलाइन्सले लापरवाही गरेर यात्रुहरुलाई अलपत्र पारेको भन्दै उनले विरोध जनाए ।

लापरवाही गर्नेहरुलाई कारबाहीको माग गर्दै यात्रुहरु सुन्धाराको होटलबाट नागरिक उड्डयन प्राधिकरणको कार्यालय बबरमहलमा पुगेका छन् ।

प्रकाशित मिति: शुक्रबार, मंसिर २, २०७९  ११:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update