Kath Khabar
शान्ति समाजको २६ औँ स्थापना दिवस, १६ जिल्लामा रक्तदान लगायत २२ वटा कार्यक्रम

काठमाडौं, जेठ १९ । मानव अधिकार तथा शान्ति समाजको २६ औँ स्थापना दिवसका अवसरमा आज बुधबार शान्ति समाजका जिल्ला शाखाहरुको आयोजनामा १६ जिल्लामा कार्यक्रमहरु सम्पन्न भएको छ । यस क्रममा शान्ति समाज चितवन शाखाद्वारा आयोजित रक्तदानमा २५ जनाले र दाङ शाखाद्वारा आयोजित कार्यक्रममा १५ जनाले रक्तदान गर्नुभएको थियो । साथै दाङ शाखाले मेट्रो अस्पताल अस्वारलाई १००० लिटरको पानी ट्याङ्की र कोरोना विशेष अस्पताल वेलझुण्डीलाई २ थान त्रिपाल सहयोग हस्तान्तरण गरेको छ ।  

यसैगरी रुपन्देही शाखाले सृजनशिल समाजद्वारा सञ्चालित बाल गृहलाई खाद्यान्न सहयोग गर्नुका साथै प्रादेशिक अस्पतालमा कार्यरत र उपचाररतहरुलाई खाजा खुवाएको छ । शान्ति समाज काठमाडौं शाखाले तारकेश्वरस्थित नवजीवन परोपकार समाजलाई र कागेश्वरी मनोहरास्थित जेष्ठ नागरिक आश्रमलाई खाद्य सामग्री सहयोग गरेको छ ।

शान्ति समाज स्थापना दिवसको अवसरमा नुवाकोट शाखाले जेष्ठ नागरिक वृद्धाश्रम देविघाटलाई, पाल्पा शाखाले पाल्पाको नारायणस्थानमा श्रमिकहरुलाई, नवलपुर शाखाले गैंडाकोटको अपाङ्ग जीवन विकास संस्थालाई र तेह्रथुम शाखाले म्याङलुङ आश्रममा खाद्य सामाग्री सहयोग गरेको छ भने सुर्खेत शाखाले वीरेन्द्रनगर नगरपालिकाले सञ्चालन गरेको कोभिड वार्डमा कार्यरत स्वास्थ्यकर्मीलाई स्वास्थ्य सामाग्री, बागलुङ शाखाले जिल्ला कारागार बागलुङमा मास्क र स्यानिटाइजर, सिरहा शाखाले लाहानमा स्वास्थ्य सामाग्री वितरण गरेको छ ।

यसैगरी कपिलबस्तु शाखाले स्यानिटाइजर लगायत स्वास्थ्य सामाग्री वितरण गर्नुका साथै बाजुरा शाखाले स्थानीय अस्पतालमा फलफुल वितरण गरेको छ । तेह्रथुम र झापा शाखाले कोभिड नियन्त्रणमा केन्द्रित रहि सचेतना कार्यक्रम गरेका छन् । स्थापना दिवसकै अवसरमा नवलपरासी सुस्ता पश्चिम शाखाले बर्दघाट नगरपालिकाद्वारा सञ्चालित कोभिड अस्पतालमा उपचाररत बिरामीहरुका लागि १७ वटा सिलिण्डरमा अक्सिजन भरी सहयोग गर्ने कार्यक्रम रहेको छ भने मोरङ शाखाले लकडाउन प्रभावित सडक आश्रित २०० जनालाई भोजन गराउँदै छ । साथै पाल्पा शाखाले १९ गते साँझ पाल्पामा दिप प्रज्वलन कार्यक्रम गर्दैछ ।

मानव अधिकार, शान्ति, लोकतन्त्र र अहिंसाका लागि क्रियाशील स्वयंसेवी संस्था मानव अधिकार तथा शान्ति समाजको स्थापना २०५३ जेठ १९ गते भएको थियो । समाजको संस्थापक सभापति कृष्ण पहाडी र संस्थापक महासचिव सुवास ढकाल हुनुहुन्छ भने कृष्ण कँडेल, लिला खनाल लगायत संस्थापक सदस्य हुनुहुन्छ । समाजको हाल केन्द्रीय सभापति गोविन्द खनाल हुनुहुन्छ भने सल्लाहकारमा पूर्व सभापतिद्वय होमकान्त चौलागाई र उत्तम पुडासैनी हुनुहुन्छ । यसैगरी पुर्व सभापति डा. गंगाधर अधिकारी यस अघि सल्लाहकार रहिसक्नुभएको छ । हाल ३९ जिल्ला शाखा र १४ सय भन्दा बढी आजीवन सदस्य रहेको शान्ति समाजमा स्थापना कालदेखी सदस्यता लिनेहरुको संख्या १२ हजार नाघेको छ । जगतमुखी जीवनमुखी सेवामुखी अभियान भन्ने आह्वानसहित शान्ति समाजले राहत सहयोगसहित विभिन्न सेवामुखी कार्यहरु समेत गर्दै आएको छ भने घृणा/विखण्डनको वकालत गर्ने कुनै पनि मानव अधिकार संस्था र व्यक्तिसँग सहकार्य नगर्ने समाजको नीति रहेको छ ।

 

प्रकाशित मिति: बुधबार, जेठ १९, २०७८  १५:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update