काठमाडौं, जेठ १९ । नेपाली उद्योग क्षेत्रका चिरपरिचित नाम ज्योति ग्रुप अन्तर्गत रहेका स्याकार ट्रेडिङ्ग कम्पनी प्रा.लि. र भाजुरत्न ट्रेडिङ्ग कम्पनी प्रा.लि.ले कोभिड महामारीको यस कठिन परिस्थितिमा एक जुट भई लड्नका लागि विभिन्न क्षेत्रमा करिब दुई करोड रकम सहयोग स्वरुप प्रदान गरेको छ । सहयोगको क्रममा ज्योति ग्रुपले नेपाल उद्योग वाणिज्य महासंघको राहत कोषमा १० लाख राहत रकम प्रदान गरेको छ ।
सहयोगकै क्रममा क्रियशन नेपाललाई पाँच लाख २२ हजार बराबरको २५ थान अक्सिजन सिलिण्डर, आछाम अस्पताललाई सात लाख ७० हजार बराबरको पाँच थान अक्सिजन कन्सन्ट्रेटर्स, हेल्थी नेशन फाउण्डेशनलाई सात लाख ७० हजार बराबरको पाँच थान अक्सिजन कन्सन्ट्रेटर्स सहयोग उपलब्ध गराइएको छ । यसका साथै गंगालाल अस्पताललाई ५ लाखको पेपर सुट प्रदान गरेको छ । जर्मन अक्सिजन प्लान्टका लागि नेशनल बिजनेश इनिसिएटिभ (एनबिआई) १५ लाख र त्रि.वि. शिक्षण अस्पतालमा जडान गरिने फ्रान्सेली अक्सिजन उत्पादन कम्पनी नोभियरको अक्सिजन प्लान्टलाई फ्रान्सबाट नेपाल ल्याउनको लागि एअर कार्गो सहित कुल एक करोड २१ लाख रकम सहयोग उपलब्ध गराएको छ ।
त्रि.वि. शिक्षण अस्पतालमा जडान गरिने उक्त अक्सिजन जेनरेटरहरूले ५० बेडलाई पर्याप्त हुने गरी प्रतिमिनेट २५० लिटर अक्सिजन उत्पादन गर्ने क्षमता राख्दछ ।

