
सिराहा, मंसिर २२ । सिराहाको लहानस्थित इलाका प्रहरी कार्यालयको मुख्य गेटमा पत्रकारहरू बिहीबार बिहानदेखि धर्नामा बसेका छन् । सार्वजनिक बिदाको दिन सरकारी नम्बर प्लेटको मोटरसाइकल चढेका सिराहाको नवराजपुर गाउँपालिका अध्यक्षका छोरा सहित ३ जना विरुद्ध कारबाहीको माग सहित प्रहरी कार्यालय पुगेका पत्रकारहरूलाई प्रहरी निरीक्षकले महासंघका जिल्ला उपाध्यक्ष सहितका पत्रकारलाई अभद्र व्यवहार गरेको भन्दै धर्नामा बसेका हुन् ।
महासंघका जिल्ला शाखा अध्यक्ष मनोज बनैताले सार्वजनिक बिदाको दिन सरकारी मोटरसाइकल चढेको विषयमा सोधखोज गर्ने पत्रकारलाई कुट्ने गाउँपालिका अध्यक्षका छोरा सहित ३ जना माथि कारबाही र पत्रकार माथि अभद्र व्यवहार गर्ने प्रहरी निरीक्षक कृष्ण खत्रीउपर कारबाही नभएसम्म धर्ना जारी रहने बताएका छन्।
गाउँपालिका अध्यक्ष शिवउदगार यादवको दबाब र प्रभावमा परेर कुटिएका पत्रकारले दिएको जाहेरी समेत दर्ता नगरी प्रहरी निरीक्षकले उल्टै पत्रकारहरूलाई अभद्र व्यवहार गरेकाले बाध्य भएर प्रहरीकै गेटमा धर्ना बस्नुपरेको अध्यक्ष बनैताले बताए ।
सरकारी मोटरसाइकलको विषयमा कुटपिट
१२ मंसिरको अपराह्न सखुवानन्कारकट्टी गाउँपालिका-५ इटहर्वामा लागेको विवाहपञ्चमी मेलामा नवराजपुर गाउँपालिका अध्यक्षका छोरा नवराजपुर - २ मझौरा बस्ने २० वर्षीय चन्दन यादव र १९ वर्षीय अमित यादव तथा २ नम्बर वडा बस्ने १८ वर्षीय पप्पु यादवको समूहले पत्रकार प्रदीप कुमार महतोलाई कुटपिट गरेको थियो ।
नवलपुर टुडे अनलाइन पोर्टल र नेत्र दैनिक राष्ट्रिय पत्रिकामा कार्यरत २३ वर्षीय प्रदीप कुमार महतोले आरोपी ३ जना सरकारी मोटरसाइकल चढेको देखेपछि तस्बिर र भिजुअल लिन खोज्दा गाउँपालिका अध्यक्षको छोरा हुँ भन्दै कुटपिट गरेको बताए ।
अध्यक्षका छोरा चन्दनसहित ३ जनाले गाउँपालिकाको नाममा रहेको प्र.१-००१ व ०३२३ नम्बरको मोटरसाइकल चढेको विषयमा प्रश्न उठाउँदा आफू कुटिएपछि कारबाहीको माग सहित जाहेरी दिएको भए पनि प्रहरीले दर्ता समेत गर्न नमानेको उनले गुनासो गरेका छन् । ।