Kath Khabar
आज यस वर्षकै सबैभन्दा बढी चिसो दिन

 

                   काठमाडौं, पुस १० । काठमाडौंमा आज यस वर्षकै सबैभन्दा बढी चिसो मापन गरिएको छ । यहाँको न्यूनतम तापक्रम आज ४ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

शनिबार काठमाडौँको न्यूनतम तापक्रम ५ दशमलव ३ डिग्री सेल्सियस मापन गरिएको थियो । केही दिनयतादेखि काठमाडौँ सहित देशभरकै तापक्रम घट्न थालेको महाशाखाले जनाएको छ। पुस लागेसँगै देशभर चिसो बढेको छ । यसैगरी आज जुम्लाको न्यूनतम तापक्रम माइनस ५ दशमलव ६ डिग्री सेल्सियसमा झरेको छ भने जोमसोमको माइनस ६ दशमलव १ र जिरीको माइनस शून्य दशमलव ७ डिग्री सेल्सियस मापन गरिएको मौसमविद् हिरा भट्टराईले जानकारी दिनुभयो ।

नेपालमा अहिले पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ । यही प्रभावका कारण आज पश्चिमी क्षेत्रको मौसम बदली हुने मौसमविद् भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार आज सुदूपश्चिम र कर्णाली प्रदेशको मौसम पूर्ण बदली हुने अनुमान गरिएको छ । काठमाडौं उपत्यकासहित आसपासका जिल्लामा भने मौसम आंशिक मात्रै बदली हुने अनुमान गरिएको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार शनिबार कास्की, खोटाङ र म्यादीका केही ठाउँमा पानी परेको थियो । कास्कीको माछापुच्छ्रे बेस क्याम्पमा गरिएको मापनअनुसार त्यहाँ ३ दशमलव ६ मिलिमिटर, म्यादीको घोरेपानीमा १ दशमलव ५ मिलिमिटर र खोटाङको दूधकोकोसीमा २ मिलिमिटर पानी परेको मापन गरिएको छ ।

प्रकाशित मिति: आइतबार, पुस १०, २०७९  १२:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update