Kath Khabar
अनुसन्धान अगाडि बढेपछि निर्मलाले न्याय पाउने आशा जगाएको छ
फाइल तस्विर

 

                 बेदकोट, पुस २८ । पछिल्लो समय सेलाउँदै गएको निर्मला प्रकरण फेरि चर्चामा आएको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का डीआईजी दुर्गा सिंह नेतृत्वको टोलीले अनुसन्धान गरिरहेको छ ।

गृहमन्त्री रवि लामिछानेको सक्रियतामा घटनालाई प्राथमिकता दिएर नयाँ शिराबाट अनुसन्धानका लागि सिंह नेतृत्वको टोली कञ्चनपुर पठाइएको थियो। विसं २०७५ साउन १० मा विद्यालयको गृहकार्य गर्न साथीको घर गएकी निर्मला भोलिपल्ट बलात्कारपछि हत्या गरिएको अवस्थामा स्थानीय उखुबारीमा भेटिएकी थिइन् ।

यस्तो जघन्य अपराध भएको चार वर्ष बितिसक्दा पनि अपराधी पहिचान हुनसकेको छैन । निर्मलाको शव भेटिएको दिनदेखि नै अनुसन्धानमा जुटेको कञ्चनपुर प्रहरीले अहिलेसम्म ठोस् तथ्य पत्ता लगाउन सकेको छैन । पछिल्लो पटक फेरि नयाँ शिराबाट अनुसन्धान अगाडि बढेपछि निर्मलाले न्याय पाउने आशा जगाएको आमा दुर्गादेवीले बताइन् ।

“यत्रो समयसम्म अपराधी पत्ता नलाग्दा छोरीले न्याय पाउने आशा नै मारिसकेका थियौंँ, अहिले नयाँ टोली अनुसन्धानका लागि आएको सुनेकी छुँ”, उनले भनिन्, “अहिले न्याय पाउने आशा पलाएको छ ।” बलात्कारपछि हत्या गरिएकी बालिका निर्मलालाई न्याय दिन ढिलाइ गर्न नहुने अधिकारकर्मी माया नेगीले बताइन् ।

“निर्मला प्रकरण सबैको चासोको विषय हो, निर्मलाले न्याय पाउनेमा हामी आशावादी छौँ”, उनले भनिन्, “सत्यतथ्य छानबिन गरेर दोषीलाई कानुनी दायरामा ल्याउनुपर्छ ।”

 

प्रकाशित मिति: बिहीबार, पुस २८, २०७९  १४:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update