काठमाडौं, पुस २८ । नाबालिग बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले धरौटीमा छाड्न आदेश दिएको छ ।
लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत काठमाण्डौको आदेश बदर गर्दै उच्च अदालत पाटनले २० लाख रुपैयाँ धरौटी तथा केहि शर्तसहित रिहा गर्न आदेश दिएको हो ।
अदालतले मागेको २० लाख रुपैयाँ धरौटी बुझाएर उनी भोलि (शुक्रबार) रिहा हुने भएका छन् । बिहीबार उच्च अदालतले सन्दीपलाई धरौटीमा छाड्न आदेश दिए पनि जिल्ला अदालत काठमाडौंमा उनीमाथिको मुद्धा भने विचाराधीन रहेको छ ।
१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोग लागेका सन्दिप लामिछानेलाई असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको थियो । काठमाडौं जिल्ला अदालतले कात्तिक १८ गते सन्दीपलाई थुनामा पठाउन आदेश दिएको थियो।
अदालतले सन्दिपलाई केही शर्तमा रिहा गर्न आदेश दिएको हो । ती शर्तहरू उल्लंघन गरेको पाइएमा उनलाई फेरि थुनामा पठाइने आदेशमा उल्लेख गरिएको छ।
यस्ता छन् शर्तहरु
१) मुद्दाको फैसला नभएसम्मको लागि सन्दीपलाई नेपालबाहिर जानबाट रोक लगाईएको छ। सन्दीपको मोबाइल डिभाइसबाट फोन कल, म्यासेज वा लोकेशनको निरन्तर निगरानी गर्न भनिएको छ ।
२) सन्दीपले काठमाण्डौं उपत्यका छोड्नु पर्दा छोड्नु अघि जिल्ला प्रहरी परिसर काठमाडौंलाई सोको लिखित जानकारी दिनु पर्नेछ। जानकारीमा बस्ने स्थान सहित फर्कने, जाने मिति खुलाउनुपर्नेछ ।
३) सन्दीपले जाहेरीकर्ता वा निजको परिवारको सदस्यलाई कुनै पनि माध्यमबाट सम्पर्क गर्ने तथा डर, धम्की वा दवाव दिने जस्ता कार्य नगर्नु, नगराउनु भनी आदेश दिइएको छ ।
४) माथिका खण्डहरुमा उल्लिखित आदेशहरुको पालनाको प्रभावकारिताको प्रयोजनको लागि प्रतिवादीको गतिविधिको निगरानी गर्ने एबं निजको मोवाइल नम्वर, टेलिफोन नम्वरमा सेवा प्रदायक सस्थामार्फत पहुँच राखी सो संग सम्बन्धित सामग्री वा विवरणको संचार अभिलेख गर्नको (लफुल इन्टरसेप्सन) लागि प्रहरी प्रधान कार्यालयले सुरक्षित र उपयुक्त व्यवस्था मिलाउन सक्नेछ। त्यसरी पहुँच राखिएका र अभिलेख गरिएका सामग्री वा विवरणको गोप्यता भंग नहुने व्यवस्था मिलाउनुपर्नेछ। जिल्ला अदालतले माग गरेका बखत त्यस्ता सामग्री वा विवरण उपलव्ध गराउनु पर्नेछ। यसको जानकारी प्रहरी प्रधान कार्यालयलाई दिन भनिएको छ।

