Kath Khabar
दिउँसोको समयमा चार घण्टा बन्द गरिँदै आएको नारायणगढ-मुग्लिन सडकखण्डमा भोली र पर्सी सवारी नरोकिने

 

                    चितवन, पुस २९ । दिउँसोको समयमा चार घण्टा बन्द गरिँदै आएको नारायणगढ-मुग्लिन सडकखण्डमा भोली शनिबार र आइतबार सवारी नरोकिने भएको छ ।

पुल निर्माणका लागि भित्तो काट्नुपर्ने भएकाले दिउँसोको समयमा चार घण्टा बन्द गरिँदै आएको सो सडकखण्डमा माघे सङ्क्रान्तिका लागि सवारी नरोकिने भएको हो ।

माघे सङ्क्रान्ति मेला भर्न पवित्र तीर्थस्थल देवघाटमा भक्तजन टाढाटाढाबाट समेत आउने भएकाले सडक पूर्णरुपमा सञ्चालन गर्न लागिएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ । गत पुस ५ गतेबाट ३० दिनका लागि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक रोकेर काम गरिँदै आएको छ ।

सो आयोजना हेर्दै आएको नागढुङ्गा-मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ-मुग्लिन) का प्रमुख किरण कार्कीका अनुसार सवारी रोकेर काम गर्दा प्रभावकारी भएको छ । निर्माणाधीन पाँच पुलमध्ये तीन वटाको भित्तो काट्ने काम सकिएको छ ।

उहाँका अनुसार सिमलताल, कालीखोला र नाम्ची खोलाको पुलको काम सकिएको हो । चिसेन्जी र तुइन खोलाको पुलको भित्तो काट्न बाँकी रहेको छ । तुइनको दायाँपट्टिको भित्तो ३० प्रतिशत मात्र काटिएको छ भने चिसेन्जीको ७० प्रतिशत काटिएको छ । देब्रेपट्टि दुवै पुलको ६५ प्रतिशत हाराहारी काटिएको छ । यी पुलसँगै काम थालिएका नौ पुल बनिसकेका छन् । यसअघिनै सो सडकका पाँच पुल बनिसकेका थिए । पाँच वटा पुल निर्माणाधीन रहेका छन् ।

प्रकाशित मिति: शुक्रबार, पुस २९, २०७९  १२:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update