
काठमाडौं, जेठ २२ । नेपालमा दिगो विकास तथा स्वस्थ जीवन र स्वच्छ शहरका लागि साइकल यात्रा अभियानको प्रवर्द्धन गर्न संयुक्त राष्ट्रसंघ विकास कार्यक्रम (यूएनडीपी) र एनसेल आजियाटा लिमिटेडले साझेदारी गरेका छन् । यसका लागि यूएनडीपीकी आवासीय प्रतिनिधि ऐशानी मेडा गाङ्गोडा लाबे र एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङ्ले यही जेठ २१ गते शुक्रबार समझदारी पत्रमा(भर्चुअलरूपमा) हस्ताक्षर गर्नुभएको छ ।
साइकल अभियानलाई ‘ग्रिनवे’ अर्थात्‘ हरितमार्ग’ एपको माध्यम लगायतबाट प्रवर्द्धन गरिने छ । शहरी बासिन्दाका लागि दिगो शहरी यातायात र वातावरण-मैत्री जीवन पद्धतिको छनोट प्रवर्द्धन गर्ने उद्देश्यले यो अभियानको शुभारम्भ गत पुस २०७७ बाटै भएको थियो । शहरबासीका लागि स्वच्छ, स्वस्थ र सुपथ रहेको साइकल यात्रा कसरी वैकल्पिक माध्यम हुनसक्छ भन्ने कुराको पुष्टि गर्नु अभियानको ध्येय हो ।
‘विश्व वातावरण दिवस २०२१’ को पूर्वसन्ध्यामा हस्ताक्षरित यस समझदारी पत्र अन्तर्गत यूएनडीपी र एनसेलले आफ्नो व्यावसायिक-सामाजिक जिम्मेवारी (सीएसआर) को हिस्साकारूपमा काठमाडौं उपत्यका बाहिरका अन्य इच्छुक शहरहरूमा समेत साइकल अभियान विस्तार गर्न सहकार्य गर्नेछन् । अभियानले स्वस्थ शहरका लागि साइकल यात्राको नियमन, नक्सांकन, विश्वास तथा प्रोत्साहनका लागि विद्यमान प्रविधि प्रयोग गर्नेछ ।
मानिसहरूलाई प्रतिस्पर्धात्मक खेलमार्फत बढीभन्दा बढी साइकल प्रयोग गर्न उत्साहित गरिनेछ, जसले साइकलयात्रीलाई पुरस्कारसँगै प्रोत्साहित गर्ने र खेलमा सहभागी हुने तथा प्रायोजन गर्ने जस्ता वातावरणमैत्री व्यवसायलाई समेत पक्षपोषण गर्दछ । यस अभियानले साइकलमैत्री, सुरक्षित पूर्वाधारको बढ्दो लगानीका लागि वकालत गर्दछ । यससँगै आर्थिक, स्वास्थ्य लगायत वातावरणीय तथा कोभिड-सम्बद्ध सुरक्षाका लागि समेत मानिसहरूलाई साइकल जीवनशैली सुरु गर्न वा निरन्तर गर्न उत्प्रेरित गर्दछ ।
“यस समझदारी पत्रमार्फत, यूएनडीपी र एनसेलले काँधमा काँधदेखि पाउमा पाउ मिलाउँदै एउटै चालमा लय मिलाउनेछन् । सरल भाषामा भन्नुपर्दा, जीवनलाई स्वच्छ (फिट) र सुरक्षित राख्न तथा पृथ्वीलाई संरक्षण गर्न टेवा दिइनेछ,” यूएनडीपीकी आवासीय प्रतिनिधि ऐसानी मेडा गांगोडा लेबले भन्नुभयो, “यूएनडीपी शहरी दिगो प्रतिफल हासिल गर्न र वायु प्रदूषण, सवारी चाप तथा सडक सुरक्षा एवं लाखौं शहरी बासिन्दाको गुणस्तरीय जीवनमा प्रत्यक्ष प्रभाव पार्ने सवालमा सार्वजनिक-निजी साझेदारीको प्रभावकारितामा विश्वास गर्दछ ।”
एनसेलका प्रमुख कार्यकाकारी अधिकृत एन्डी चोङ्ले यो अभियान दिगो समाजप्रतिको प्रवर्द्धन र मातृ कम्पनी आजियाटाको ‘नेट-जिरो कार्बन’ लक्ष्यसँग जोडिएको बताउनुभयो । “साइकल यात्रालाई शहरी आउजाउ, व्यावहारिक रूपमा छोटो-तथा मध्यम दूरीको यातायातको दिगो साधनकारूपमा प्रवर्द्धन गर्न र हरित उद्देश्य प्राप्तिका लागि संयुक्त राष्ट्रसंघसँग हातेमालो गर्न पाएकोमा एनसेल आभारी छ,” उहाँले भन्नुभयो, “साइकल यात्राका अनेकन फाइदा सँगै हामी यो विश्वास गर्दछौं कि शहरमा यात्रा गर्ने हाम्रो शैलीमा परिवर्तनको सम्भावना छ ।” यूएनडीपी र एनसेलबीच हस्ताक्षर भएको समझदारी पत्रले नेपालमा दिगो विकास लक्ष्यको प्रगतिका लागि संयुक्तरूपमा पहलकदमी लिन र अन्वेषण गर्न प्रतिवद्धता व्यक्त गर्दछ ।
नेपाल सरकारको ‘विद्युतीय आवागमनका लागि राष्ट्रिय योजना (एनपीईएम)’ ले सन् २०५० सम्ममा अन्य विविध उपायसँगै यातायात क्षेत्रमा धाउजन्य इन्धन प्रयोग ५० प्रतिसतले घटाई वायु प्रदूषणमा सुधार ल्याउने लक्ष्य राखेको छ । त्यससँगै पुराना र मर्मत नगरिएका सवारीसाधन, उद्योगको फोहरबाट हुने प्रदूषण दर घटाउने लक्ष्यपनि एनपीई एमको छ । शहरमा साइकलयात्रा अभियानले यो लक्ष्यमा योगदान गर्ने अपेक्षा गरिएको छ ।
“यो सबैका लागि पहुँचयोग्य र सबैलाई फाइदा पुर्याउने एउटा खेल हो । कुनैपनि व्यक्तिले स्मार्टफोन बिनै वायसको साथमा यसमा सहभागी हुन र सुविधा भोग गर्न पाउँछन्, जसले गर्दा उनीहरू आफैंको र शहरको समेत भलो हुन्छ,” साइकल सिटी नेटवर्क नेपाल (सीसीएनएन) का अध्यक्ष शैलेन्द्र डंगोलले भन्नुभयो, “असंख्य अभ्यास र परीक्षणपछि अन्ततः हामीले साइकल गेम एप, ग्रिन वे सुरुगर्न सकेका छौं । म यो अभियानमा भाग लिन र यसबाट लाभ लिन सबैमा आह्वान गर्दछु ।”