Kath Khabar
थुनामुक्त भए सन्दीप लामिछाने

 

                काठमाडौं, पुस २९ । नाबालिगमाथि बलात्कार आरोपमा पुर्पक्षका लागि जेल पठाइएका राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछाने केन्द्रीय कारागार सुन्धाराबाट थुनामुक्त भएका छन् । उनलाई अहिले जिल्ला अदालत काठमाडौं लगिएको छ।  उच्च अदालत पाटनको बिहीबारको आदेशअनुसार शुक्रबार लामिछाने रिहा हुन भएका हुन् । हिरासतबाट मुक्त हुनुअघि आज लामिछानेको स्वास्थ्य परीक्षण भएको थियो ।

लामिछानेका कानुन व्यवसायी सुवास पाठकका अनुसार थुनामुक्त गर्न दिएको आदेशको पत्र काठमाडौँ जिल्ला अदालतमा पुगेको थियो। उहाँले पत्र पुगिसकेपछि थुनामुक्तको प्रक्रिया अघि बढेको थियो।

उच्च अदालत पाटनका न्यायाधीशद्वय रमेश ढकाल र ध्रुवराज नन्दको इजालसले लामिछानेलाई धरौटीमा थुनामुक्त गर्न आदेश दिएको थियो। जिल्ला अदालत काठमाडौँको थुनछेक आदेशविरुद्ध उच्च अदालत पाटनमा दिइएको पुनरावलोकनको निवेदनमाथि सुनुवाइमा धरौटीमा लिएर थुनामुक्त गर्न आदेश गरेको हो ।

पाटन उच्च अदालतका रजिष्टार ठगिन्द्र कट्टेलका अनुसार लामिछाने काठमाडौँ उपत्यका बाहिर जाँदा जिल्ला प्रहरी कार्यालय काठमाडौँको अनुमति लिनुपर्नेछ भने पीडित परिवारलाई कुनै पनि माध्यमबाट सम्पर्क गर्न, डर, त्रास वा धम्की दिन नपाउने गरी थुनामुक्त गरिएको हो ।

गत कात्तिक १६ मा जिल्ला अदालत काठमाडौँमा लामिछानेविरुद्ध परेको मुद्दामा थुनछेक बहस सुरु भएको थियो । लामिछानेका कानुन व्यवसायीले किशोरी नाबालिग नरहेको जिकिर गर्दै आएका थिए । लामिछानेमाथि नाबालिग किशोरीलाई बलात्कार गरेको आरोपमा गत कात्तिक १४ मा काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरिएको थियो ।

सरकारी वकिल कार्यालयले दर्ता गरेको मुद्दामा लामिछानेलाई १० देखि १२ वर्षसम्म कैद सजाय हुनुपर्ने मागसमेत गरिएको थियो । लामिछानेले भने आफूविरुद्ध लागेको बलात्कार आरोप अस्वीकार गर्दै आफू निर्दोष रहेको र बलात्कार नगरेको बयान दिएका थिए । उनी गत असोज २० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै प्रक्राउ परेका थिए ।

प्रकाशित मिति: शुक्रबार, पुस २९, २०७९  १४:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update