
ललितपुर, जेठ २२ । अन्तर्राष्ट्रियस्तरको शिक्षाका लागि प्रमुख गन्तव्य बनेको नेपालकै पहिलो आई बि पि वाई पि साथै आई बि एम वाई पि विद्यालय प्रिमियर अन्तर्राष्ट्रिय विद्यालय सातदोबाटोले विश्व वातावरण दिवस २०२१ को अवसरमा सप्ताहव्यापीरुपमा विविध कार्यक्रमहरु सम्पन्न गरेको छ ।
कोभिड-१९ को उच्च संक्रमणका कारण विद्यालय भौतिकरुपमा सञ्चालन नभएको अवस्थामा भर्चुअल माध्यमबाट अघिल्ला वर्षमा जस्तै यो वर्ष पनि विद्यार्थीहरूको उल्लेख्य र सक्रिय सहभागिताका साथ कार्यक्रम सम्पन्न भएको विद्यालयले जनाएको छ । वातावरण भनेको के हो ? यसले सम्पूर्ण प्राणी तथा वनस्पति जगतमा कस्तो महत्व राख्दछ ? तथा विभिन्न कारणले गर्दा वातावरणमा देखिएको अस्वभाविक परिवर्तनलाई कम गर्न के कस्ता पहल एवं चेतनामूलक कार्यक्रमहरु गर्न सकिन्छ भन्ने बारेमा हरेक कक्षामा व्यापक छलफल तथा आवश्यक खोजका कार्यहरु पनि सो अवसरमा गरिएको थियो ।
विद्यालय चेतनाको पहिलो आधार हो भन्ने कुरालाई हृदयङ्गम गर्दे कुनैपनि चेतनामूलक कार्यको सुरुवात विद्यालयबाटै गर्दा उत्कृष्ट नतिजा प्राप्त हुन्छ भन्ने कुरालाई आत्मसात् गरी यस कार्यक्रममा कक्षा १ देखि ११ कक्षाका विद्यार्थीहरुलाई सहभागी गराइएको थियो । यस सप्ताह अन्तर्गत फोहोरको कसरी व्यवस्थित गर्ने, बोटबिरुवाहरुको हेरचाह कसरी गर्ने तथा यस कार्यमा अन्य व्यक्तिहरुलाई कसरी आकर्षित गर्ने भन्ने कुरा व्यावहारिक र सैद्धान्तिकरुपमा कार्य सम्पादन गरिएको र यसलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता स्कुलले जनाएको छ ।
यसरी विश्वव्यापीरुपमा उठेका मुद्धाहरु आफ्ना विद्यार्थीहरुलाई सुसूचित पार्दे एउटा सचेत नागरिक बनाउने विद्यालयको उद्देश्यलाई आफ्ना विविध कार्यक्रम मार्फत विद्यालयले अगाडि बढाउँदै आएको छ ।